बैतडी स्वराडक्षेत्रका क्वारेन्टाइनको अवस्था भद्रगोल : जनप्रतिनिधि भन्छन् ‘व्यवस्थापन गर्न सक्दैनौ’
बैतडीको तल्लो स्वराड क्षेत्रमा स्थापना गरिएका क्वारेन्टाइनको उचित व्यवस्थापन नहुँदा क्वारेन्टाइनमा बसेकाहरुले समस्या भइरहेको गुनासो गरेका छन्। कोरोना भाइरस नियन्त्रण तथा रोकथाका लागि जारी भएको लकडाउनका कारण भारतमा अलपत्र परेका नेपाली मजदुरहरु दोब्बर तेब्बर भाडा तिरेर स्वदेश त फर्किरहेका छन्, तर यतापनि उचित व्यवस्थापन नहुँदा समस्या भइरहेको उनीहरुले बताएका छन्।
प्रदेश सरकारले सीमाबाट विनाचेक जाँचगरी धमाधम स्थानीय तहहरुमा नागरिकलाई पठाइरहेको छ। स्थानीय तहहरुले भारतमा रहेकाहरुको तथ्यांक संकलन गरेको भएपनि सो अनुसार व्यवस्थापन गर्न सकेको छैन्। क्वारेन्टाइनमा सरकारको मापदण्ड अनुसार उचित खानेपानी, शौचालय, बिजुली लगायतको व्यवस्था नहुँदा समस्या भएको र बाक्लो बसाइले अन्य सरुवारोगको पनि डर भएको बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ स्थित चर्तुवाहु विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुले बताएका छन्। ‘न त सुरक्षाकर्मी छन् न त स्वास्थ्यकर्मी, न त अनुगमनका लागि जनप्रतिनिधि नै आउँछन्’ क्वारेन्टाइनमा रहेका एक जनाले भने।
यस्तै क्वारेन्टाइनमा बसेकाहरूका परिवारका सदस्य दिनको ८÷१० पटक विभिन्न वहाना बनाएर उनीहरुलाई भेट्न गइरहेका अर्का स्थानीयले बताए। नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘त्यस्तो नगर भन्दा मान्दैनन, झगडा गर्न आउँछन। क्वारेन्टाइनमा बसेकाहरू पनि दुरी कायम नगरी हुल जसरी बस्ने, गफ गर्ने गर्छन्। नगर भन्दा हामी बिरामी छैनौं केही भएको छैन। के हुन्छ र भन्छन्।’ तर ती सबैको सवस्थ्य परीक्षण नभएको उनले बताए।
स्वराड क्षेत्रमा स्थापना भएका एउटा क्वारेन्टाइनमा ३१÷३२ जना बसिरहेका छन्। साघुँरो ठाउँ त्यसमाथि गाउँपालिका तथा वडा कार्यालयहरुले चामल, दाल, नुन, तेल, साबुन बाहेक मास्क, स्यानिटाइजर लगायतका कुनै स्वास्थ्य सामग्री उनीहरुलाई दिएका छैनन्। क्वारेन्टाइनमा बसेकाहरुलाई भेट्न एकै जना १०÷१२ पटक आउने र त्यसबारे जनप्रतिनिधिलाई जानकारी गराउन खोज्दा फोन समेत नउठ्ने गुनासो एक स्थानीयको छ। ‘बिजोग छ स्थिती छ, फेरि समस्याबारे कसैलाई भन्दा उल्टै जनप्रतिनिधि नै झगडा गर्न आउँछन्’ उनले भने।
जनप्रतिनिधिहरुले आफु नजिकका क्वारेन्टाइनहरुको मात्रै अनुगमन गर्ने र टाढाका क्वारेन्टाइनमा गाडी नभएको वहाना बनाएर अनुगमन नै नगर्ने हरिश साउँदले बताए।
उता पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले भने किट अभावका कारण चेकजाँच गर्न समस्या भएको बताए। ‘अहिलेसम्म ७ सय बढीको उद्धार गरिसक्यौँ, क्वारेन्टाइन बनाइएको विद्यालयपनि भरिए अझै सयौं मानिसहरु आइरहेका छन् उनीहरुलाई कहाँ राख्ने अन्यौँलता छ, उनले भने। संघीय सरकार र प्रदेश सरकार कसैको पनि सहयोग नहुँदा र प्रदेश सरकारले विना परिक्षण हुलकाहुल मान्छे पठाइदिएपछि अफुहरुलाई व्यवस्थापनमा समस्या भएको अध्यक्ष चन्दले बताए।
एउटा वडामा ७/८ क्वारेन्टाइन भएको तर प्रहरी चौकीमा ५/७ जना सुरक्षाकर्मी मात्रै भएकाले सबै स्थानमा प्रहरी राख्न समस्या भएको अध्यक्ष गोरखबहादुर चन्दले बताए। गाउँपालिकामा भएका सबै विद्यालय भरिएपछि अब आउनेहरुलाई पाल टाँगेर राख्नुपर्ने अवस्था आएको बताउँदै उनले भने, ‘हामी सँग कुनै स्रोत साधन छैन्, स्थानीय तहले मात्रै व्यवस्थान गर्न गाह्रो छ।’
यस्तै मेलौली नगरपालिका –२ सलेनास्थित भुमिराज आधारभुत विद्यालय लगायतका क्वारेन्टाइनमा बसेकाहरुले ओछ्याउने विस्तारापनि घरबाटै ल्याएर रात बिताइरहेको बताएका छन्। राति बत्ति नहुँदा सर्प र किराहरुको डर भएको बताउँदै भुमीराज विद्यालयको क्वारेन्टाइनमा बसेका एक जनाले भने, ‘बिहान र साँझको खाना त दिइएको छ, तर पर्याप्त पानी छैन्, बत्ती छैन्, मोबाइलमा चार्ज नभएर थन्काइएको छ। चार्ज लगाउन पनि गाउँलेले मान्दैनन्।’
मेलौली नगरपालिकाका नगरप्रमुख कृष्ण नाथले एक्कासी अन्धाधुन्ध मान्छेहरु आएपछि व्यवस्थापन गर्न समस्या भएको बताए। अहिलेसम्म नगरपालिकामा ७/८ सय बढीको उद्धार गरी ल्याइएको र अझै आउने क्रम जारी रहेकोले सबै विद्यालयमा क्वारेन्टाइनको व्यवस्था मिलाइरहेको नगर उपप्रमुख राधा ओझाले बताइन्।
उता शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले सुरक्षाकर्मीको अभाव भएपनि प्रत्येक क्वारेन्टाइनमा एक÷एक जना स्वयमसेवक राखेको बताएका छन्। अहिलेसम्म एक हजार बढीको उद्धार गरिसकेको र अझै आउने क्रम जारीरहेको बताउँदै उनले भने, ‘क्वारेन्टाइनमा बसेकाहरुलाई केही समस्या भइहाले पनि जानकारी र व्यवस्थापनका लागि प्रत्येक क्वारेन्टाइनमा एक÷एक जना स्वयमसेवक राखेका छौँ। दिनमा एकपटक हामीहरुले पनि क्वारेन्टाइन स्थलहरुको अनुगमन गरिरहेका छौँ’