सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पहुँच नभएका विपन्नले राहत पाएनन्

२०७७ वैशाख ८, ०६:०७ रोशन भट्ट

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ९ बङ्ग्राकटान शान्तीटोलकी अनुसा पार्कीका आमावुवा रोजगारीको सिलसिलामा भारतमा छन्। उनी तीन जना भाईबहिनी सहित धनगढीमा बस्दै आएकी छन्। अहिले उनलाई दैनिकी चलाउन पनि समस्या छ। तर पनि उप–महानगरपालिकाबाट अहिले सम्म कुनै सहयोग नमिलेको उनको गुनासो छ। ‘लकडाउनका कारणले समस्या भएको छ, भारतबाट आउँने पँैसा पनि रोकिएको छ’, उनले भनिन्, ‘विपन्न परिवारले राहत पाउनुपर्ने भएपनि कसैले पाउँने र कसैले नपाउँने अवस्था देखिएको छ।’

स्थानीयले जनप्रतिनिधीले आफ्ना नजिककालाई मात्र राहत उपलब्ध गराएको आरोप उनको छ। सोही टोलका प्रकाश पार्की पनि विगतमा भारतमै रोजगारी गर्ने हुँदा घर खर्च चलाउँदै आएका थिए। पछिल्लो एक वर्ष यता उनी धनगढीमै ज्याला मजदुरी गरेर घर खर्च चलाउँदै आएका छन्। तर गत चैत ११ गते देशमा लकडाउनको घोषणा भएसंगै उनलाई समेत खाद्यान्नको जोहो गर्न समस्या भईरहेको छ। ‘विगतमा भारतमा काम गर्थे,’ उनले भने, ‘यता खेतीपाती पनि गरेको छैन् राहत पनि पाएको छैन्।’

एक कट्टा जग्गा छ भन्दै वडा कार्यालयले राहत उपलब्ध गराएन् तर खाद्यान्नको निकै समस्या भोगिरहेको गुनासो सोही टोलकी स्थानीय पुतली विकको छ। सरकारले दाल, चामल नुन, तेल लगायतका समाग्री वितरण गर्दै छ तर समस्यामा परेकाहरुलाई वेवास्ता गरेको दुःखेसो उनको छ। ‘वडा कार्यालयमा धाउँदा पनि वेवास्ता गरियो’, उनले भने ‘अहिले छाक टार्न समेत समस्या भईरहेको छ।’

उप–महानगरपालिकाको वडा नम्बर ९ बङ्ग्राकटान शान्ती टोलका अधिकासं पुरुषहरु रोजगारीका लागि छिमेकी मुलुक भारत पस्ने गरेका छन्। तर पछिल्लो ६ महिनादेखि एक वर्ष यता स्वदेश फर्किएकाहरु अहिले गाउँमै छन्। कमाएर ल्याएको रकम तथा भण्डारण गरेको खाद्यान्न सकिएपछि समस्यामा परेको सोही टोलका अर्का स्थानीय दीर्घ कोलीले बताए।

‘लकडाउनले खाने कुरा सकिएको छ। राहत उपलब्ध भएको छैन्’, उनले भने, ‘सरकारबाट कुनै सहयोग मिलेको छैन्।’ धनगढी उप–महानगरपालिकाको वडा नम्बर ९ का अनुसार हाल सम्म ७९ घर परिवारलाई खाद्यान्न वितरण गरिएको छ। १० किलो चामल, एक किलो दाल, एक प्याकेट नुन र एक प्याकेट तेल उपलब्ध गराएईएको छ। अन्य वडाहरुमा अधिकत्तम छ सय ५० भन्दा बढी घर परिवारलाई राहत वितरण गरिएपनि गरिखाने वर्गहरुको बढी बसोवास रहेको वडा नम्बर ९ मा राहत वितरण गर्न वेवास्ता गरिएको छ।

दिनभरी मजदुरी गरी खानेहरुलाई मात्र राहत वितरण गरिएको वडा अध्यक्ष प्रेमबहादुर भण्डारीले बताए। ‘सरोकारवाला सबैको समन्वयमा खाद्यान्न वितरण गरिएको हो।’ उनले भने। लकडाउनका कारण समस्यामा परेकाहरु राहत वितरण गर्दा दैनिक ज्याला मजदुरी गरी खाने वर्ग र विपन्न परिवारलाई पहिलो प्रथमिकतामा राख्नुपर्ने भएपनि कार्यकर्ता तथा नजिककाहरु मात्र उपलब्ध गराएको आरोप लागेको छ।

वडाका जनप्रतिनिधी, नागरिक अगुवा, राजनैतिक दल तथा टोल विकास समितिहरुसंग समन्वय गरि समस्या परेकाहरुलाई छनोट गर्दै राहत वितरण गरिएको दावी धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोस मुड्भरीको छ। ‘केही परिवारहरु छुटेका पनि हुनसक्छन्’, उनले भने, ‘समस्यामा परेकाहरु सम्पर्कमा आए राहत वितरण गरिने छ।’

धनगढी नगरभित्र हाल सम्म पाँच हजार भन्दा बढी घर–परिवारलाई खाद्यान्न समाग्री उपलब्ध गराएको दावी गरेको छ। तर अधिकासं विपन्न परिवारहरु भने राहतबाट वञ्चित भएका छन्।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस