धार्चुलाको क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई पहाडी जायकाको मल्हम
धनगढी: सीमा बन्दका कारण दार्चुला सिमापारी धार्चुलाको क्वारेन्टाइनमा बसेका नेपाली मजदुरलाई भारतको पहाडी जायका र रङ्ग कल्याण संस्थाका महिलाहरुले विभिन्न सहयोग गरेका छन्।
धार्चुलामा रहेका ३ सय ६५ जना नेपालीहरुलाई फलफूल लगायत खाद्यान्न सामाग्री सहयोग र विभिन्न मनोरञ्जन दिइरहको पहाडी जायका टिम भारतकी संचालिका उर्मिला सनवाल गुंज्यालले बताइन्।
उनले दिनेश खबरसंग भनिन्, ‘यहाँको प्रशासनले नेपालीलाई खान र बस्नको उचित व्यवस्था गरेको छ। यस संस्थाका सबै महिलाहरुले समेत मिलेर रासन सहयोग गरेका छौ।’ ‘स्वस्थ, तन्दुरुस्त रहन र उनीहरुको मनोबल बढाउने हेतुले सानै भएपनि सहयोग गरेका हौँ, सामाजिक दुरी कायमगरी बिहान योगा गराउछौँ, साँझ भलिबल तथा विभिन्न खेलहरु खेलाउँछौँ’ उनले थपिन।
१५ दिनसम्म क्वारेन्टाइनमा बसेका सबै नेपालीहरु स्वस्थ रहेको गुंज्यालले बताइन्। ‘हामीले सेवाका लागि समुह बनाएका छौँ, हिजो हामीले सबैलाई बिस्कुट वितरण गरेका थियौँ, आज केरा सुन्तला लगायत फलफुल वितरण गयौँ’ उनले भनीन।
नेपालीहरु घर जान नपाएकाे भन्दै निराश भएको उनले बताइन। ‘एक जनाको त आमा बितेको छन्, यतै क्रियामा बसेका छन्’ जायका टिम भारतकी संचालिका उर्मिला सनवाल गुंज्याल भन्छिन, ‘बाशुदेव भट्टलाई क्रियाको लागि केही रकम हामीले सहयोग गयौँ, शुभकामना छ कि उनीहरु जतिसक्दो छिटो आफ्नो घर परिवारसँग मिल्न सकुन्।’