गौरीफन्टाबाट खाद्यान्न बाहेकका गाडीको प्रवेशमा रोक लगाउन माग
धनगढी : कैलालीमा गौरीफन्टा नाका भएर नेपाल प्रवेश गर्ने गाडीमा रोक लगाउन माग गरिएको छ। कोरोना भाईरसकासंग विश्व नै लडिरहेका वेला भारतमा समेत संक्रमितको संख्या बढ्दै गएपछि गौरीफन्टा नाका भएर नेपाल प्रवेश गर्ने गाडीहरुमा रोक लगाउन माग गरिएको हो। धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३ भन्सारका स्थानीयले गौरीफन्टा नाका भएर अत्यावश्यक बाहेकका समान बोक्ने गाडीहरु समेत नेपाल प्रवेश भईरहेका कारण कोरोना संक्रमणको जोखिम बढेको भन्दै केही दिनलाई अत्यावश्यक बाहेकका अन्य गाडी नेपाल प्रवेशमा रोक लगाउन माग गरेका हुन्।
‘सीमा नाका बन्द भएपनि गौरीफन्टा नाकाबाट दैनिक ४० देखि ५० वटा गाडी नेपाल प्रवेश गरिरहेका छन्,’ धनगढी उप–महानगरपालिका वडा नम्बर ३ भन्सारका स्थानीय राजु भण्डारीले भने, ‘निर्वाध रुपमा आयात हुने गाडीहरुसंगै भारतीय नागरिक पनि आउन थालेका कारण कोरोनाको जोखिम बढाएको छ।’ गाडीमा सवार गर्नेहरुको कुनै जाँच नहुने र उनीहरु खाजा नास्ता खानको लागि पनि भन्सार टोलमा पस्ने गरेका कारण जोखिम बढेको भन्दै स्थानीय चिन्तित भएका छन्। यो संगै भारतिय गाडीहरुमा नेपालीहरु पनि लुकिछिपी यात्रा गर्ने गरेको भेटिएको भन्सारकै अर्का स्थानीय सन्तोष घर्तीले बताए।
‘छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। जसको जोखिम सुदूरपश्चिमवासीलाई छ’, उनले भने, ‘यसबाट नै संक्रमण फैलिए देशलाई नै खतारा हुने हुँदा गट्टु र कोईला लगायतका गाडीहरु लकडाउन सम्मका लागि नेपाल प्रवेशमा पुर्ण रुपमा रोक लगाउन पर्छ।’ खाद्यान्न लगायतका समाग्रीहरु आयात हुने गाडीमा सवार गर्नेहरु मास्क, सेनिजाईजर, पन्जा लगायत व्यक्तिगत सुरक्षाका समाग्रीहरु प्रयोग नगर्ने गरेका कारण भन्सार टोलमा पनि संक्रमण फैलिने खतरा बढेको छ।
भारतका विभिन्न राज्यबाट गौरीफन्टा नाका भएर समाग्रीहरु आयात हुने गरेका कारण जोखिम बढेको धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बलबहादुर ऐरले बताए। ‘केही दिन अगाडी सामान आयात हुने गाडीमा कैलाली स्थानीयहरु आएका कारण भन्सार टोलवासी चिन्तित भएका छन्’, उनले भने, ‘आवश्यकता अनुसारका गाडीलाई मात्र व्यवस्थीत तरिकाले नेपाल प्रवेश गराउनु पर्छ।’
कोरोनाको जोखिमबाट बच्नको लागि नेपाल प्रवेश गर्ने गाडीहरुलाई रोक लगाउन माग राख्दै भन्सारका स्थानीयले धनगढी उप–महानगरपालिका मेयर नृपबहादुर वडा संग छलफल समेत गरेका छन्। सरोकारवाला निकायसंग छलफल गरि अत्यवश्यक समाग्री वोक्ने गाडीहरुलाई व्यवस्थीत रुपमा नेपाल प्रवेश गराउन पहल गर्ने उप–महानगरपालिका मेयर वडले बताए।
‘यस विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसंग छलफल भईसकेको छ’, उनले भने ‘अव कैलालीका प्रमुख जिल्ला अधिकारी र भन्सारका प्रमुखसंग छलफल गरि व्यवस्थीत रुपमा अत्यावश्यक समाग्री बोक्ने गाडीलाई मात्रै नेपाल प्रवेश गराउन पहल गर्छु।’ भन्सार कार्यालय कैलालीका अनुसार अहिले सबै समाग्रीहरु निर्वाध रुपमा नेपाल आयात भईरहेको छ।