सुदूरपश्चिममा भारतबाट फर्किएका डेढ लाखको अझै खोजी भएन
छिमेकी मुलुक भारतबाट कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट डेढ लाख भित्रिएको तथ्याङ्क छ। नाकामा स्वास्थ्य सहायत कक्ष स्थापना गरेपछि मात्र उनीहरु फर्किएको तथ्याङ्क प्रदेश सरकारसंग छ। यो संगै सयौँको संख्यामा तेस्रो मुलुकबाट पनि सुदूरपश्चिमेलीहरु स्वदेश फर्किएका छन्। जस मध्ये थोरै संख्यामा मात्रै क्वारेन्टाईनमा रहेका छन्। उनीहरुको कोरोना परीक्षण गर्नको लागि नमुना संकलन गरिएको छ।
तर भारत तथा तेस्रो मुलुकबाट आएका अधिकासं सुदूरपश्चिमेलीहरु क्वारेन्टाईनमा नबसेको डोटीका स्थानीय प्रशान्त थापाले बताए। ‘जसले गर्दा जोखिम बढ्दै गएको छ’, उनले भने, ‘भारत तथा तेस्रो मुलुकबाट आएकाहरु केही क्वारेन्टाईनमा बसेको भएपनि अधिकासं गाउँ घरमै घुमिरहेका छन्।’ भारतबाट मात्रै लाखौँको संख्यामा सुदूरपश्चिम भित्रिए पनि हाल सम्म दुई हजार तीन सय जना क्वारेन्टाईनमा रहेको प्रदेश सरकारले जनाएको छ।
लकडाउनपछि पनि सीमा नाकामा अलपत्र परेका प्रदेशवासीलाई सुरक्षाका साथ सम्बन्धीत स्थानीय तहको जिम्मा लगाईएको थियो। त्यसमा पनि अधिकासं क्वारेन्टाईनमा बस्न नमानेर घर गएका थिए। सुदूर पहाडका जिल्लामा स्थापना गरिएका क्वारेन्टाईनबाट समेत भारतबाट फर्किएकाहरु भागेका छन्। जिल्ला प्रशासन संगै स्थानीय सरकारको उदासिनता र भारतबाट फर्किएकाहरुले गरेको अटेरीका कारण जोखिम बढेको छ।
तर सक्रियताका साथ उनीहरुको खोजी कार्य सुरु गरिएको छैन्। बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने ‘वडा स्तरदेखि वाहिरबाट आएकाहरुको खोजी कार्य भईरहेको छ।’ कोरोना रोकथामका लगि देशमा लकडाउन घोषणा गरिएको १७ औँ दिन पुरा हुँदा पनि क्वा।ेन्टाईनमा रहेका बाहेक अन्यको खोजी गर्ने काम हुन नसकेको हो।
यता सुदूरपश्चिम प्रदेश सरकारले भने त्यसको जिम्मा स्थानीय तहलाई दिएको जनाएको छ। उनीहरुलाई प्रहरी र प्रशासनको सहकार्यमा स्थानीय तहले खोजेर क्वारेन्टाईनमा राख्नुपर्ने जिम्मेवारी दिईएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए।
‘जसका लागि वडाध्यक्षको संयोजकत्वमा समिति समेत गठन गरिएको छ’ उनले भने, ‘उनीहरुको खोजी कार्य सकिएपछि कोरोना परीक्षणको लागि नमुना संकलन गरिने छ।’