कोरोनाबाट लण्डनमा भूतपूर्व गोरखा सैनिकको निधन
कोरोना भाइरसको संक्रमणबाट लण्डनमा अर्का एक भूतपूर्व गोरखा सैनिकको निधन भएको छ। पर्वत पैँयु घर भई हाल लण्डनको अल्पर्टनमा बस्दै आएका चेतप्रसाद गुरुङको निधन भएको हो। मंगलबार ५९ वर्षीय गुरुङको लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको बताइएको छ।
करिब दुई साताअघि कामबाट घर फर्कंदा ज्वरो आएको महसुस भएपछि उनी घरमै आइसोलेसनमा बस्दै आएका थिए। करिब ५।६ दिनअघि श्वास फेर्न गाह्रो भएपछि एम्बुलेन्स बोलाई उनलाई अस्पताल लगिएको स्थानीय वीनेपाली डटकमले समाचार लेखेको छ। उनी पूर्व गोरखा सैनिक थिए। गोरखा ट्रान्सपोर्ट रेजिमेण्ट (जीटीआर) मा उनले सेवा गरेका थिए।