सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका वडा अध्यक्षको गाडीबाट २ थान हतियार र ८२ हजार नगद पनि बरामद

२०७६ चैत्र २५, ०९:३८ खबर संवाददाता

कञ्चनपुर : कञ्चनपुरमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको कैलाली गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाहीको गाडीबाट दुई थान हतियार सहित ८२ हजार नगद पनि बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी कञ्चनपुरले पूर्वपश्चिम राजमार्ग अन्तरगत गुलरियाबाट रोकिराखेको अवस्थामा नियन्त्रणमा लिईएको भारतीय नम्बर डिएल–३ सिसिआर ३९९७ को टोयटा फर्चुन गाडीमा गाडीमा प्वान्ट टुटु–एलआर थान–१ को बन्दुक, त्यसमा प्रयोग हुने १४ गोटा बुलेट(गोली) एक थान एयरगन र त्यसमा प्रयोग हुने एक सय ९६ गोटा छर्रा बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक बिरबहादुर साहुले बताए।

यस्तै गाडीबाट ८२ हजार नगद, मेघा बैँक, हिमालयन बैँक, एनआईसी एसिया बैँक, गरिमा विकास बैँक, आर बिएम इन्डियन बैँक, आईएमई बैकका एक–एक गरु ६ वटा एटिएम कार्ड पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।  

बरामद गरिएको गाडी हतियार, नगद, वडा अध्यक्षको परिचय खुल्ने अन्य कागजपत्र, एटिएम लगायतका सबै सामान प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी उपरिक्षक साहुले बताए।

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र पौडेलले सशस्त्र प्रहरीले बरामद गरेका सामान बुझेको पुष्टि गरेका छन्।

उनले अहिले नै सबै कुरा भन्न नसकिने बताउँदै घटनाको अनुसन्धान भईरहेको बताए। नेपाली काँग्रेसबाट विजयी गोदावरी नगरपालिका १० का वडा अध्यक्ष शाही यसअघि गत माघमा २२ लाख सहित धनगढीमा जुवा खालबाट पक्राउ परेको थिए। पछि उनी धरौटी बुझाएर रिहा भएका थिए। 

कमेन्ट लोड गर्नुस