सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा राहत वितरणको नाममा ‘लकडाउन’ को उल्लंघन

२०७६ चैत्र २३, ०३:१८ रोशन भट्ट

धनगढी : शनिबार कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना भाईरस पोजेटिभ देखिएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार पुगेको छ। कैलालीको धनगढी उप–महानगरपालिकाका एकै परिवारका दुई जना, भारतबाट फर्किएका लम्कीचुहा नगरपालिका एक र भारतबाटै फर्किएका कञ्चनपुरको वेदकोट नगरपालिकाका एक युवक गरि तिन जना संक्रिमित थपिएका हुन्। उनीहरुलाई अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा राखेर उपचार भईरहेको छ।

संक्रमितको संख्या बढ्दै गएका बेला सुदूरपश्चिममा राहत वितरण नाममा शहर तथा गाउँ बस्तीमा भीडभाड पनि उत्तिकै बढेपछि जोखिम बढेको छ। सेती प्रादेशिक अस्पतालका डा. शेरबहादुर कमरले भने, ‘अहिले नै खाद्यान्न अभाव भए जस्तो मलाई लाग्दैन्। भिडभाड र जमघटले नै संक्रमणलाई फैलाउँछ। सबैले सचेत हुन आवश्यक छ।’ प्रदेशमा सबैले आफूखुसी राहत वितरण गर्न थालेपछि कोरोना संक्रमण समेत नियन्त्रण बाहिर जाने आशंका उनको छ।

कोरोनाको जोखिमलाई नियन्त्रण गर्न नेपाल सरकारले पुरै देशमा आउदो २५ गते सम्म लकडाउनको घोषणा गरेको छ ।११ गतेदेखि घोषण गरिएको लकडाउन आईतवार सम्म आईपुग्दा १२ दिन पूरा भएको छ। यो अवधीमा खाद्यान्न अभाव नभएको बताईएको छ। सुदूरपश्चिममा अव्यवस्थित रुपमा खाद्यान्न वितरण हुन थालेपछि लक्षित वर्गले नपाउने तर अनावश्यक भीडले जोखिम मात्रै बढाउने भन्दै चिन्ता गरिएको छ।

कतै विपन्न परिवारलाई खाद्यान्नको अभाव नै भएपनि स्थानीय र प्रदेश सरकारसंगै जिल्ला प्रशासन कार्यालयमा खबर गर्ने वातावरण सृजना गरि सहज आपुर्ती गर्ने व्यबस्था मिलाउन आग्रह गरिएको छ। धनगढी उप– हानगरपालिकाका प्रवक्ता सन्तोष मुड्भरीले भने, ‘हामीले सुरुवात देखि नै भेला नहुन आग्रह गर्दै आएका छौँ। तर कतिपय स्थानीय तथा संघ–संस्थाहरुले वडाध्यक्षलाई नै खबर नगरी राहत वितरण गरिरहेका छन्।’ तर स्थानीयले नै राहत वितरण गर्दा समस्या भएको बताएपनि धनगढी उप–महानगरपालिकाका मेयर र वडा अध्यक्षकै सहभागितामा राहत वितरण हुँदा लकडाउनको उल्लंघन गरिएको छ।

विश्वका दुई सयभन्दा बढी देशमा कोरोनाको संक्रमण फैलिएका वेला नेपालमा पनि संक्रमितको संख्य थपिदै गएको छ। त्यसमा पनि सुदूरपश्चिम प्रदेशमा मात्रै संक्रमित हुनेको संख्या बढी छ। सुदूरपश्चिमका हजारौँ स्थानीय भारत संगै तेस्रो मुलुकबाट पनि फर्किएका कारण उनीहरुबाट नै संक्रमण फैलिने खतरा बढेको छ। तर सुदूरपश्चिममा भने स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधी संगै विभिन्न संघ–संस्थाहरु खाद्यान्न वितरणको दौडमा छन्।

विपन्नहरुको अवस्था पहिचार गरि खाद्यान्न आपुर्ती गर्नुपर्ने भएपनि कोरोनाको जोखिमलाई मध्यनजर गरि राहत वितरण गर्न आग्रह गरिएको कैलालीका प्रमुख जिल्ला अकिारी यज्ञराज बोहराले बताए। ‘कतिपय स्थानीय तहहरु नै राहत वितरण व्यस्त रहेको पाईएको छ’, उनले भने, ‘अझपनि म सबैलाई आग्रह गर्न चाहान्छु भिडभाड गरेर राहत वितरण नगरौँ।’

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस