सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनुदान नपाएर सरकारबाट पनि ठगिए सुदूरपश्चिमका उखु किसान

फाईल फोटो
फाईल फोटो
२०७६ साउन १९, ०६:५७ नवराज पनेरु

चिनी उद्योगबाट निर्धारित मुल्य नपाएका सुदूरपश्चिमका उखु किसानहरु अहिले आएर सरकारबाट पनि ठगिएका छन्। सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा किसानलाई दिनुपर्ने प्रोत्साहन अनुदान हालसम्म नदिएपछि किसानहरुले सरकारले समेत ठगेको गुनासो गरेका हुन्। सरकारले उखु किसानलाई प्रतिक्विन्टल प्रोत्साहन अनुदान बापत ६५ रुपैयाँ २८ पैसा उपलब्ध गराउने नीति भएपनि अहिले सम्म सुदूरपश्चिमका उखु किसानहरुले उक्त अनुदान रकम पाएका छैनन्। 

सरकारले निर्धारण गरेको न्यूनतम खरिद मूल्य भन्दा प्रतिक्विन्टल ३५ देखि ७० कम रुपैँयामा उखु विक्री गरेका सुदूरपश्चिमका किसानले सरकारले नै दिने अनुदान पनि अहिले सम्म नपाएका हुन्। सुदूरपश्चिममा चैत २२ गते सम्म मात्रै उखुको विक्री भएकोमा अहिले सम्म एक जना किसानले पनि सरकारले दिने भनेको भ्याट बापतको अनुदान प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा नपाएको कञ्चनपुरका किसान गोपाल पन्तले बताए। ‘ऋण लिएर उखु खेती गर्दै आएका छौ,’ उनले भने, ‘सरकारले अहिले सम्म अनुदानको रकम दिने सुरसार नै गरेको छैन्।’

उनका अनुसार सरकारले उखुको मूल्य निर्धारण गर्दा एउटा मात्रै मूल्य तोकपनि कञ्चनपुरका उखु किसानहरुले भने चिनी उद्योगबाट फरक किसिमका उखुको फरक मूल्य पाएका थिए। पटक–पटकको आन्दोलनपछि चिनी मिलबाट प्रतिक्वीन्टल ४ सय ७१ रुँपैया दिनुपर्नेमा सुदूरपश्चिममका किसानहरुले भने अर्ली उखुमा प्रतिक्विन्टल ४ सय ३६ रुपैँया, जनरल उखुमा ४ सय ११ र रिजेक्ट उखुमा ४ सय १ रुपैँया पाएका थिए। अहिले आएर सरकारले दिने भनेको अनुदान पनि अनिश्चित बनेपछि किसानहरुमा निराशा छाएको कञ्चनपुरकै उखु किसान शेरवहादुर शाहीले बताए। 

‘विगतका बर्षहरुमा किसानलाई दिइने अनुदान रकम सरकारले चिनी मिल मार्फत पठाउने गरेको थियो,’ उनले भने, ‘तर आर्थिक बर्ष २०७४÷७५ देखि अनुदान रकम अर्थ मन्त्रालयले कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाउन थालेपछि भनै झन्झट भएको हो।’ उनका अनुसार २०७४ मा विक्री गरिएको उखुको अनुदान रकम किसानहरुले २०७५ को पौषमा पाएका थिए। गत बर्ष कञ्चनपुरबाट मात्रै झण्डै ३३ लाख क्विन्टल विक्री भएको थियो। 

अनुदानको रकमका लागि कृषि मन्त्रालयले आफ्नै खेतमा उत्पादन गरेकाको हकमा लालपुर्जा उपलब्ध गराउनुपर्ने र भाडामा जग्गा लिएर उखुखेती गरेकालाई स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ। जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्व, कोष तथा लेखा नियन्त्रण कार्यालय र कृषि ज्ञान केन्द्र सदस्य रहने गरि अनुदान वितरण उप समिति पनि रहेको छ। तर किसानहरुले समयमै अनुदानको रकम भने पाएका छैनन्। उखु मिलहरुले अन्तिम समयमा आएर कागजपत्र बुझाएकाले अहिले आएर सोमाथि अध्ययन भईरहेको अनुदान वितरण उप समितिका सदस्य सचिव तथा कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका प्रमुख मणिभद्र न्यौपानेले बताए। उनले उखु क्रसिङ गर्ने मिलले कोष तथा लेखा नियन्त्रण कार्यालयमा किसानहरुका सबै कागजपत्र बुझाउनुपर्ने भएपनि अहिले आएर मात्रै कागजपत्र पाएको उनले बताए। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस