कैलालीको चिसापानी–धुलिकोट पदयात्रा प्रतिस्पर्धा हुँदै, तयारी तीव्र

धनगढी : कैलालीमा आयोजना हुन गैइरहेको ऐतिहासिक कर्णाली चिसापानी–धुलिकोट पदयात्रा प्रतिस्पर्धाको तयारी तीव्र पारिएको छ।
पर्यटन प्रवर्धन र धुलिकोट दरबारको ऐतिहासिकतालाई झल्काउने उदेश्यले वैशाख १८ गते कर्णाली चिसापानीदेखि धुलिकोट दरबारसम्मको प्रतिस्पर्धात्मक पदयात्राको तयारी तिब्र पारिएको आयोजक नवलसिंह रावल फाउण्डेशनका अध्यक्ष तपेन्द्र रावलले बताए।

बिहान ७ बजेदेखि ११ बजेसम्म हुने प्रतिस्पर्धाका लागि अहिले निमन्त्रणा बाढ्ने काम सुरु भएको छ। प्रतिस्पर्धा हुने मार्गको सरसफाइदेखि त्यसको चार वटा खण्डमा चेक पोइन्टमा निर्माणको कार्य सकिएको छ। पदयात्राको बिचमा लेन मिच्ने प्रतिस्पर्धीहरूको ड्रोनद्वारा अनुगमन गर्नका लागि निर्णायक मण्डल गठन गरिएको छ। प्रतिस्पर्धामा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै आयोजकले प्राथमिक उपचार, खानेपानी व्यवस्थापन तथा उद्धार कार्यदल गठनको तयारीमा जुटेको आयोजकले बताएको छ।


चिसापानीको खेलमैदानदेखि राजकाँडाको धुलिकोट दरबारसम्मको करिबन सात किलोमिटरको पदयात्रा प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशबाट संघ, राष्ट्रिय सभा, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका जनप्रतिनिधिहरूले मात्र सहभागीता जनाउन पाउने आयोजकले जनाएको छ। तीन लाख ५० हजार नगद पुरस्कार राशि रहेको पदयात्रामा प्रथम हुने महिला र पुरुष प्रतिस्पर्धीले नगद एक÷एक लाख पाउने छन। द्वितीय हुने महिला र पुरुषले ५०÷५० हजार नगद पुरस्कार र त्यसैगरी तृतीय हुने महिला र पुरुष प्रतिस्पर्धीले नगद २५÷२५ हजार पाउने आयोजकले बताएको छ। कार्यक्रमको उद्घाटन नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गर्ने कार्यक्रम तय भएको छ।