प्रेस चौतारीको धनगढीमा पहिलो बैठक, श्रमजीवीका सवालमा गम्भीर बन्न अपिल
धनगढी : प्रेस चौतारी नेपाल, कैलालीको पहिलो बैठक धनगढीमा सम्पन्न भएको छ। ८औँ जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो बैठक सोमवार धनगढीमा बसेको हो।
बैठकले जिल्लामा क्रियाशील पत्रकारलाई पेशामा टिकाइराख्न, श्रमजीवी पत्रकारले भोग्न परेका समस्या सामाधान गर्न सम्बद्ध सञ्चार माध्यम र सबै पक्षलाई अपिल गर्ने निर्णय गरेको छ।
बैठकले पत्रकार अक्षयकोष स्थापना गर्ने निर्णयलाई कार्यान्वयन गर्ने, पत्रकारिताका माध्यमबाट प्रेस चौतारीको संगठन निर्माणमा भूमिका खेल्ने अग्रजलाई स्थापन दिवसमा सम्मान गर्ने निर्णय पनि गरेको छ। जिल्ला अधिवेशन सम्पन्न गर्न भूमिका खेल्ने एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, संगठनका केन्द्रीय, प्रदेश र तत्कालीन जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, संगठनको निर्वाचन आयोगका अध्यक्ष तथा सदस्य, एमाले जिल्ला कमिटी र प्रचार विभाग लगायतलाई धन्यवाद दिने प्रस्ताव समेत पारित गरेको छ।
बैठकमा शपथ ग्रहण गर्न बाँकी रहेका पदाधिकारी तथा सदस्यलाई संगठनका नवनिर्वाचित अध्यक्ष जनक सिंह विष्टले शपथ ग्रहण गराएका थिए। कैलाली इन्चार्ज सुशील ढुंगानाको प्रमुख आथित्यततामा बसेको पहिलो बैठकमा एमालेका जिल्ला उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख चुडामणी भट्ट विशिष्ट अतिथि थिए।
यस्तै प्रेस चौतारीका केन्द्रीय सदस्य दिलबहादुर छत्याल, एमाले सुदूरपश्चिम प्रचार तथा प्रकाशन विभाग सचिव भोजराज जोशी, प्रदेश अध्यक्ष कृष्ण ओली विशिष्ट अतिथि र प्रदेश महासचिव शिवराज भट्ट, पूर्व केन्द्रीय सदस्य गोविन्द रोस्यारा, प्रदेश सदस्य बिराज रोस्यारा लगायतका नेता अतिथिका रूपमा सहभागी थिए।