बैतडीको वडा नम्बर एक सिगासमा आज शोक बिदा
बैतडीः बैतडीको वडा नम्बर एक सिगासगाउँपालिकामा आज शोक बिदा दिइएको छ।
सिगास गाउँपालिका–१ मा शनिवार भएको जिप दुर्घटनामा परी एकै गाउँका दुईको जनाको मृत्यु भएको र चार जना घाइते भएकाले आज वडाका शिक्षण संस्था र सरकारी कार्यालयहरुमा शोक बिदा दिएको वडा अध्यक्ष रामचन्द्र ऐरीद्वारा हस्ताक्षिरित सूचनामा भनिएको छ। दुर्घटनामा सिगास–१ खरकेउडाकी १९ वर्षीया पार्वती धामी र १४ वर्षीया जयन्ती धामीको मृत्यु भएको थियो।
जिपमा सवार अन्य ४ जना घाइते भएका छन्। घाइतेहरुको उपचार भइरहेको वडा अध्यक्ष ऐरीले बताए। सिगास–१ कै ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया हेमन्ती धामी र १४ वर्षीया भागरथी धामीको उपचार भइरहेको हो।
शनिवार बिहान ५ बजे सिगास गाउँपालिका–१, को गडानबाट तल्लो इराना हुँदै फर्कंदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४०२८ नम्बरको जिप माडौं भन्ने स्थानमा दुर्घटनामा परेको थियो। कच्ची सडकबाट जिप करीब ५ सय मिटर तल खसेको थियो। दुर्घटनाका समयमा सिगास–१ कै जयन्त बोहराले जिप चलाईरहेका थिए। उनी अर्को जिपको सहचालक रहेको बुझिएको छ। उनी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।