सुदूरपश्चिममा छैन पूर्व मुख्यमन्त्रीले सरकारी गाडी चड्ने कानुन
धनगढी : सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडी पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पुस अन्तिम साता डोटी लगे। डोटीबाट फर्केपछि रावलले मन्त्रालयमा गाडी फिर्ता दिएनन्।
नेकपा एमालेबाट कानुन मन्त्री बनेका हिरा सार्कीको निर्देशनमा कर्मचारीहरूले एमाले दलको नेतासमेत रहेका रावललाई गाडी दिएका थिए। सुदूरपश्चिममा पूर्व मुख्यमन्त्री तथा दलको नेताहरूलाई गाडी सुविधा दिने कानुनी व्यवस्था नभए पनि मन्त्रीको निर्देशनमा रावलले गाडी पाएका हुन।
सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालले सुदूरपश्चिममा पूर्व मुख्यमन्त्री तथा दलका नेताहरूलाई सरकारी गाडी सुविधा दिने कानुन नभएको बताए। कानुन उप–सचिवसमेत रहेका नेपालले भने, ‘सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी र मुख्यमन्त्री तथा मन्त्रीहरूलाई गाडी दिने व्यवस्था छ। अहिले सुदूरपश्चिम प्रदेशमा पूर्व मुख्यमन्त्रीलाई त्यो सुविधा दिने, छुट्टै कानुन बनिसकेको छैन। तथापि प्रदेश सभा सम्बन्धी ऐनमा संशोधनको लागि, सत्ता पक्षका संसदीय दलका नेताहरूलाई पनि दिने प्रस्ताव गएको छ। त्यो प्रस्ताव विचाराधीन छ।’
कञ्चनपुरको दैजी चोकमा रावल सवार सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३१८ नम्बरको सरकारी गाडी शनिवार युवाहरूले रोकिपछि दुरुपयोग भएको खुलेको हो। सुदूरपश्चिम प्रदेशमा पूर्व मुख्यमन्त्री तथा दलका नेताहरूलाई गाडीको सुविधा नभए पनि रावलले भने सरकारी गाडी प्रयोग गर्दै आएका हुन्। कर्मचारीहरूले पनि शनिवार तथा बिदाको दिनमा गाडी चलाउन प्रदेश सभाका सचिवबाट स्वीकृति लिनुपर्ने हुन्छ। तर, पूर्व मुख्यमन्त्री रावलले युवाहरूले गाडी रोकेपछि स्वकृति माग गरेका थिए। प्रदेश सभाका सचिव देवबहादुर बोगटीले शनिवार पास दिएको बताए। उनले भने, ‘(बाटोमा गाडी रोकिएको) त्यो विषयमा जानकारी छैन। तर, हिजो पूर्व मुख्यमन्त्री ज्यूलाई पास दिएको हो। प्रदेश सभाको दलको नेता हुन्। प्रदेश सभाको सदस्य हुन।’
सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडी, चालक र इन्धनसहितको सुविधा पूर्व मुख्यमन्त्री रावलले प्रयोग गरेका हुन्। सुदूरपश्चिम प्रदेशमा पूर्व मुख्यमन्त्रीहरूलाई गाडी सुविधा दिने कानुनी व्यवस्था भने छैन। रावलको सचिवालयले प्रदेश सभा सचिवबाट अनुमति लिएको कागज नै सार्वजनिक गरेको थियो। कानुनी रूपमा एमालेको दलको नेतासमेत रहेका पूर्व मुख्यमन्त्री रावलले गाडी सुविधा पाउँदैनन्। प्रदेश सभाका सचिव बोगटीले प्रदेश सभाको गाडी पूर्व मुख्यमन्त्री रावलले प्रयोग नगरेको बताए। बोगटीले भने, ‘कार्यक्रमका लागि मन्त्रालयले गाडी दिएको रहेछ। उहाँले प्रयोग गर्दै आउनु भएको थियो। हिजो मैले पास दिएको हो। प्रदेश सभाको गाडी होइन। मन्त्रालयको गाडी हो।’
सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र रावलको गाडी रोक्ने एक जनालाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, शनिवार साँझ नै उनलाई प्रहरीले छोडेको छ। रावलले भने आफ्नो पार्टीको मन्त्रीको पहुँचमा राज्य स्रोत दोहन गरेको विषय सार्वजनिक भएको हो। यता, रावलको सचिवालयले एक विज्ञप्ति जारी गर्दै शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले गाडी रोकेर चालकलाई गालीगलौज, हातपातको प्रयास र गाडी तोडफोड गर्न खोजेको बताएको छ। सचिवालयले उक्त घटनाको घोर निन्दा गर्दै दोषीलाई कारबाही गर्न मागसमेत गरेको थियो।