सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेलले किच्दा सुदूरपश्चिममा पाँच जनाको मृत्यु भएको पुष्टि

२०८१ माघ ११, १०:४९ खबर संवाददाता

धनगढीः भारतमा रेलले किच्दा सुदूरपश्चिमका पाँचसहित सात नेपालीको मृत्यु भएको छ।

भारतको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा रेलले किचेर अछामका चार, कैलालीका एक र दुई जनाको ठेगाना खुलेको छैन।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा, छोरा हिमु तथा कमलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामीको रेलले किचेर मृत्यु भएको छ। कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारीको समेत मृत्यु भएको छ।

यस्तै, बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासीको पनि मृत्यु भएको छ। अछामको मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियारको उपचार भइरहेको छ।

महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधवार साँझ लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेपछि यात्रु रेलबाट हाम फालेका थिए। पुष्पक एक्सप्रेसमा सवार यात्रुले रेलको पाङ्ग्राबाट धूवाँ निस्किएपछि सम्भावित आगलागीको डरले लिकमै हाम फालेका भारतीय सञ्चार माध्यमहरूले बताएका छन्। सोही क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूमध्ये धेरैलाई किचेको थियो। ज्यान गुमाउने १२ जनामा सात नेपाली पुगेका हुन।

 

कमेन्ट लोड गर्नुस