सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बैंकिङ कसुर र चेक अनादरमा व्यवसायी विरुद्ध पर्न थाले मुद्दा

२०८१ पुष १७, ०२:०२

वीरेन्द्र भट्ट, धनगढीः कैलालीमा आर्थिक लेनदेनको समस्या विकराल रुपमा बढ्न थालेको छ।

विशेष गरी चेक अनादर र बैंकिङ कसुरको समस्या भयावह रुपमा बढ्न थालेको हो। सुन किन्दा चेक दिने, जग्गा पास गर्दा चेक दिने, व्यापारिक कारोबार गर्दा चेक दिने, सापटी दिएबापत ऋणीले चेक दिने, सहकारीमा चेक नसाटिने, पहिलै रकम लिने पछि फिर्ता दिनुपर्दा चेक दिने, महंगो रक्सी लिने रकमबापत चेक दिने, होटलमा बस्ने भुक्तानीबापत चेक दिने, गाडी र मिटरव्याज लगायत कारण कैलालीमा बैंकिङ कसुर चेक अनादरको समस्या बढ्न थालेको हो।

यस्तो समस्या लिएर प्रहरी हुँदै अदालत धाउने बढेका छन्। बैंकिङ कसुर र चेक अनारको विषयमा पीडितले धमाधम पीडक विरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दायर समेत गर्न थालेका छन्। २०८१ मंसिर २४ गते नरेश भट्टले हर्कबहादुर शाहको विरुद्ध मुद्दा दायर नै गरेका थिए। सो मुद्दाको बयान लिने काम भएपनि अन्तिम फैसला हुन बाँकी नै छ।

गत वर्षको असोज १७ गते टेकबहादुर रावलले पनि बैंकिङ कसुर अन्तर्गत नै कृष्णप्रसाद थारु विरुद्ध मुद्दा दायर गरेका थिए। तर फैसला हुन बाँकी नै छ। यस्तै २०८१ जेठ १६ गते चेक अनादर अन्तर्गत एम बी विजनेस नामक व्यापारीक फर्मका सञ्चालक कपिलदेव भट्टले सुपेरियर ग्रुप प्रालि नामक सःमिलका सञ्चालक इन्द्रबहादुर शाही विरुद्ध मुद्दा दायर गरेकोमा अन्तिम फैसला हुन बाँकी छ।

२०८० असार २४ गते कृष्णबहादुर महरा क्षेत्रीले चेक अनादरमा सिनेट श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेकोमा अन्तिम फैसला हुन बाँकी छ। चेक अनादरमै २०८१ बैशाख २८ गते राजेश्वरीदेवी नागरिले शोभा बगाले भट्टराई विरुद्ध मुद्दा दायर गरेकोमा फैलसा हुन बाँकी छ। यो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। गत साउन १५ गते चेक अनादरमै अमितप्रताप सिंहले गोविन्द खत्री विरुद्ध मुद्दा दायर गरेकोमा यस मुद्दाको बक पत्र भइसकेको छ भने अन्तिम फैसला भएको छैन।

गत साउन २३ गते धर्मराज पोखरेलले चेक अनादर अन्तर्गत राजेन्द्रबहादुर खड्का विरुद्ध मुद्दा दायर गरिएकोमा बयान लिने काम भएपनि अन्तिम फैसला भएको छैन्। गत वर्षको साउन ७ गते रमेश रानाले नागार्जुन टेक्निकल कलेज एण्ड रिसर्च सेन्टर प्रालिका प्रोप्राइटर किसन नाथ विरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेकोमा फैसला हुन बाँकी छ। 

यस्तै गत जेठ ९ गते बालाजी अर्डर एण्ड सप्लायर्सका प्रोप्राइटर अमितकुमार गुप्ताले चेक अनादरमा खाँड एण्ड पोखरेल सप्लायर्सका सञ्चालक रमेशविक्रम खाँडसहित तीन जना विरुद्ध मुद्दा दायर गरिएकोमा अन्तिम फैलसा हुन बाँकी छ। उल्लेखित चेक अनादर र बैंकिङ कसुरका मुद्दाका लागि बुधबार पेसी नै तोकिएको छ। जिल्ला अदालत कैलालीमा बुधबारका लागि कुल ८३ मुद्दाको पेसी तोकिएको छ।

न्यायधीस दण्डपाणी लामिछानेले हेर्ने गरी २४, न्यायधीस प्रदीपकुमार उपाध्यायले हेर्ने गरी १७, न्यायधीस दीपेन्द्रनाथ योगीले हेर्ने गरी १५ तथा न्यायधीस हरिसिंह धामीले हेर्ने गरी २७ पेसी तोकिएको छ। तीमध्ये एउटाको फैसला र अर्को एक मुद्दाको आदेश र २० वटा पेसी भने स्थगित गरिएको छ।

कमेन्ट लोड गर्नुस