सुदूरपश्चिमका नौ जिल्लामा रास्वपाले पार्टी अध्यक्ष टुङ्ग्यो
धनगढीः सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला समितिहरू गठन गरेको छ। कैलाली, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, कञ्चनपुर र दार्चुला जिल्लामा जिल्ला समिति गठन गरिएको हो।
जिल्लाहरूमा भेला आयोजना गरेर समिति गठन गरिएको पार्टीले बताएको छ। विभिन्न मितिमा आयोजित रास्वपाको जिल्ला भेलाबाट चयन भएका जिल्ला सभापतिहरूको नेतृत्वमा जिल्ला समिति गठन भएको हो।
कैलाली जिल्लाको अध्यक्षमा महेशकुमार चौधरी चयन भएका छन्। त्यस्तै, दार्चुलाको अध्यक्षमा गोपालसिंह कोट्टारी, बाजुराको अध्यक्षमा नवराज जैशी, अछामको अध्यक्षमा आमेप्रकाश रावल, बझाङको अध्यक्षमा सत्यराज उपाध्याय, डोटीको अध्यक्षमा केशव बलायर, डडेल्धुराको अध्यक्षमा सुरेन्द्र अवस्थी, बैतडीको अध्यक्षमा भीम नाथ र कञ्चनपुरको अध्यक्षमा पदमबहादुर विष्ट चयन भएका छन्।
अध्यक्षहरूसँगै जिल्ला समिति पनि गठन गरिएको छ। रास्वपाले पछिल्लो समय संगठन बिस्तारका क्रममा जिल्ला सम्मेलन गर्दै आएको छ।