सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैंको दक्षिणा ‘शिक्षामा लगानी’

२०८१ असोज २८, ०१:५८ रासस

टीकापुरः दशैंको समयमा अधिकांश बालबालिकाको हातमा पैसा हुन्छ। दक्षिणामा पाएको यस्तो रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गर्छन्।

कैलालीको टीकापुर–१ की समृद्धि पोखरेल यस वर्षको दशैंको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजनामा छन्। कक्षा ६ मा अध्ययनरत समृद्धि दशैं बिदा भएलगत्तैदेखि चित्रकला सिकिरहेकी छन्। ‘मलाई चित्र बनाउन रुचि छ, त्यसैले दशैंको बिदा सदुपयोग गरिरहेकी छु’, उनले भनिन, ‘यसपटकको दक्षिणा चित्रकलाका लागि आवश्यक पेन्टिङका सामान किन्ने योजनामा छु।’

कक्षा ७ मा अध्ययनरत लम्की–चुहाकी सोनी उपाध्याय पनि यसपटकको दक्षिणाले अध्ययनका लागि आवश्यक ‘नोट कापी’ किन्ने तयारीमा छन्। ‘मैले गत वर्षको दक्षिणाबाट राम्रो लुगा किनेकी थिए, यस वर्ष भने आफूलाई वर्षभरि पुग्ने कापी किन्ने हो। दशैंको रकम अनावश्यक खर्च नगर्ने सोँचेकी छु।’ कक्षा १० मा अध्ययनरत बन्दना रेग्मी पनि दशैं खर्च जोगाउने तयारीमै छिन्।

गत वर्ष साथीहरूसँग टीकापुर पार्कमा पिकनिक गएकी बन्दना यस वर्ष अध्ययनका लागि आवश्यक सामग्री किन्ने योजना रहेको बताए। ‘के किन्ने भनेर योजना बनाउँदैछु। स्कूल झोला अध्ययनका लागि उपयोगी सामग्री किन्ने कि भन्ने सोचमा छु’, उनले भने। हरेक वर्ष बडादशैंलगायत चाडपर्वमा प्रायः सबैजसो विद्यालयमा करिब एक महिना लामो बिदा हुने गरेको छ। कतिपयले घरायसी काम, घुमफिर र रमाइलो काममै बिदा गुजार्ने गर्छन्।

शिक्षकहरू भने चाडपर्वको समय अनावश्यक काममा खेर फाल्नुभन्दा सिर्जनात्मक काममा प्रयोग गरेर बिताउँदा राम्रो हुने बताउँछन्। यसका लागि अभिभावकले नै वातावरण बनाइदिनुपर्ने शिक्षक कृष्ण जैसीको सुझाव छ। टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी पनि लामो बिदालाई त्यत्तिकै खेर नफाली अभिभावक र बालबालिकाले रमाइलो वातावरणमा व्यावहारिक सीप सिकाउन प्रयोग गर्नुपर्ने बताए।

‘मानिसको जीवनमा सधैँ काम र पढाइको व्यस्तता हुनसक्छ। सबैलाई रमाइलो वातावरण र मनोरञ्जन चाहिन्छ। यसर्थ अभिभावकले बालबालिकालाई समय र पैसा अनावश्यक खर्च गर्नु हुँदैन भनी सिकाउनुपर्छ। रमाइलो वातावरणमा घरको काम सिकाउने, सिर्जनशील काममा लगाउनसके राम्रो हुन्छ’, उनले भने।
 

कमेन्ट लोड गर्नुस