धनगढीबाट ३५० किलोमिटर रेन्ज दिने ग्यारो विद्युतीय स्कुटरको बिक्री सुरु
धनगढी : धनगढीबाट ३५० किलोमिटर रेन्ज दिने ग्यारो विद्युतीय स्कुटरको बिक्री सुरु भएको छ। धनगढीबाट असिउँ ट्रेडले तीन लाख ६५ हजार मूल्य रहेको ग्यारो जीटी ६० स्कुटर बिक्री थालेको हो।
विद्युतीय स्कुटरले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। १५० किलोग्रामको तौल धान्न सक्ने क्षमता भएको यो स्कुटरको लम्बाइ, चौडाइ र उचाइ क्रमशः १८५० एमएम, ६९० एमएम र ११०० एमएम रहेको छ। यो स्कुटर ईको मोडमा ५१ किलोमिटर प्रति घण्टा, ड्राइभिङ मोडमा ६० किलोमिटर प्रति घण्टा र स्पोर्ट्स मोडमा ६८ किलोमिटर प्रति घण्टाको गतिमा कुदाउन सकिन्छ।
त्यस्तै यस स्कुटरले इको मोडमा ३५० किलोमिटर, ड्राइभिङ मोडमा २८० किलोमिटर र स्पोर्ट्स मोडमा २०० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ। यसको ग्राउन्ड क्लियरेन्स १४० एमएम रहेको छ। यसमा ४८ भोल्ट १८० एम्पियर आवर क्षमताको मोटर छ।
४८ किलो तौल भएको यस ब्याट्रीले आईपी ६७ रेटिङ पाएको छ। मोटरको सन्दर्भमा यसमा २००० वाट आउटपुट पावर र ४००० वाट पिक पावरको मोटर छ।
यसले १५० न्युटन उच्चतम् टर्क दिने कम्पनीले जनाएको छ। यसलाई ६ देखि ८ घण्टामा फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।