धनगढीमा अब नयाँ पर्यटकीय गन्तव्यस्थलहरुको समेत पहिचान गरिने
धनगढीः कैलालीको धनगढीमा नयाँ पर्यटकीय गन्तव्य स्थलहरुको पहिचान गरिने भएको छ।
यस्तो काम धनगढी उपमहानगरपालिको गर्ने भएको हो। हाल विद्यमान रहेका पर्यटकीय स्थलहरुको स्तरोन्नती गरेर नयाँनयाँ पर्यटकीय गन्तव्य स्थलहरुको पनि पहिचान गरिने उपमहानगरपालिकाको योजना छ। सुदूरपश्चिम प्रदेशको प्रमुख व्यवसायीक केन्द्र समेत रहेको धनगढी क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास गर्न नयाँ पर्यटकीय गन्तव्य स्थलहरुको समेत पहिचान गरिने उपमहानगरको पर्यटन तथा संस्कृति कार्यनीतिभित्र समावेश गरिएको छ।
आन्तरिकसँगै वाह्य पर्यटकको आगमन बढाउन पर्यटन विकासमा योजनाबद्ध रुपमा काम गर्ने योजना अघि सारिएको छ। पर्यटन सेवाबाट प्राप्त हुने लाभ स्थानीय समुदाय र नागरिकमा पुगाउन ग्रामीण पर्यटकीय क्रियाकलापको विस्तार तथा अभिवृद्धि गरिने योजना अघि सारिएको हो।
नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गरेर सुरक्षित गन्तव्ययुक्त पर्यटन पूर्वाधार विकास गर्दै पर्यटकलाई उपलब्ध गराउने सेवाको सहज पहुँच र बसाइँको अवधि लम्ब्याउन स्थानीयस्तरमा रोजगारीका अवसर वृद्धि गरी उपमहानगरवासीको जीवनस्तरमा सुधार ल्याउने विषय पर्यटन कार्यनीतिभित्र समावेश गरिएको छ। यसका साथै भादा होमस्टेलाई प्रवद्र्धन गरी व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने योजना उपमहानगरको छ।
उपमहानगर क्षेत्रमा अवस्थित मन्दिर, गुम्बा, देउथान, भुईयाँ, विहार, मस्जिद लगायत धार्मीक तथा सांस्कृतिक स्थलहरुको संरक्षण गरेर सांस्कृतिक पर्यटनको विकास गर्ने योजना समेत उपमहानगरले अघि सारेको छ। सरकारी तथा निजी क्षेत्रसँगको सहकार्यमा बेहडाबाबा मन्दिर परिसरलाई प्रमुख धार्मीक पर्यटकीय स्लको रुपमा विकास गरिने विषय पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उपमहानगरपालिकाले समावेश गरेको छ।