सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकदिवसीय र टी–२० को छुट्टाछुट्टै कप्तान बनाउने गौतम गम्भीरको तयारी

२०८१ असार २८, ०५:५० खबर संवाददाता

काठमाडौँ: आफू भारतीय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त हुनुअघि गौतम गम्भीरले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)सँग पाँच बुँदे प्रस्ताव राखेका थिए। त्यसमध्ये एउटा बुँदामा उनले फरक–फरक ढाँचाको क्रिकेटका लागि छुट्टाछुट्टै कप्तान बनाउने विषय समावेश गरिएको थियो।


आफ्नो त्यही योजना अनुरूप गौतम गम्भीरले निकट भविष्यमा हुने श्रीलंका भ्रमणका क्रममा एकदिवसीय र टी–२० टोलीमा छुट्टाछुट्टै कप्तान बनाउने तयारी अगाडि बढाएका छन्। बीसीसीआई स्रोतका अनुसार, प्रमुख प्रशिक्षक गम्भीरले टेस्टका लागि पनि छुट्टै कप्तान बनाउने भएका छन्।

भारतीय टोलीले जुलाई २७ तारिखदेखि श्रीलंकाको भ्रमण गर्ने कार्यक्रम रहेको छ। सोही भ्रमणमार्फत गम्भीरले पनि आफ्नो जिम्मेवारी समाल्नेछन्। श्रीलंका भ्रमणका क्रममा भारतले तीनवटा टी–२० अन्तर्राष्ट्रिय र तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ।

श्रीलंका भ्रमणका लागि पनि गम्भीरले एकदिवसीय र टी–२० टोलीको छुट्टाछुट्टै कप्तान बनाउने समाचारमा जनाइएको छ। उनले श्रीलंका भ्रमणका लागि रोहित शर्माको अनुपस्थितिमा केएल राहुललाई एकदिवसीय टोलीको कप्तान बनाउने तयारी अगाडि बढाएका छन्।

हालै सम्पन्न टी–२० विश्वकपलगत्तै रोहित शर्मा र अर्का अनुभवी खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन्। एकदिवसीय र टेस्ट क्रिकेटमा भने उनीहरू सक्रिय रहने छन्। तर, श्रीलंका भ्रमणका क्रममा रोहित र विराट दुबैलाई आराम दिइने बताइएको छ। श्रीलंका भ्रमणपछि हुने इङ्ल्यान्डविरुद्धको शृंखलालाई ध्यानमा राखी रोहित र विराटलाई आराम दिन लागिएको समाचारमा जनाइएको छ।

त्यसैले उनको अनुपस्थितिमा केएल राहुललाई एकदिवसीय टोलीको कप्तान बनाउन लागिएको हो । टी–२० टोलीको कप्तान भने हार्दिक पाण्ड्यालाई बनाइने भएको छ। यी दुवै खेलाडीसँग यसअघि पनि कप्तानको जिम्मेवारी समालेको अनुभव छ। 

कमेन्ट लोड गर्नुस