अमरगढी डडेल्धुराका यी पदाधिकारी र कर्मचारीले पचाए नियमविपरीत भत्ता
धनगढीः डडेल्धुराको अमरगढी नगरपालिकामा आर्थिक बेथिती बढ्दै गएको छ। नगरपालिकामा कार्यरत कर्मचारी र पदाधिकारीले नियमविपरीत भत्ता बुझ्दै आएको समेत फेला परेको छ।
अर्थमन्त्रालय कार्य सञ्चालन निर्देशिका २०७७ को दफा ७.१.१ को बुँदा नम्बर ३ मा एउटै निकाय र अन्तर्गतका पदाधिकारी/कर्मचारी मात्र बस्ने बैठकमा भत्ता प्रदान नगर्ने भनि व्यवस्था गरिएको छ। तर अमरगढी नगरपालिकाले भने पालिकाकै कर्मचारी र पदाधिकारी सहभागि बैठकमा बैठक भत्ता बुझेको फेला परेको छ।
कर्मचारी बैठक भत्ता अन्तर्गत कविन्द्रराज भट्ट, खगेन्द्रराज जोशी, पदमबहादुर ऐर, शेरबहादुर बुढा, पारसमणि जोशी र कर्णबहादुर विष्टले प्रतिव्यक्ति ६ हजार ३७५ का दरले भत्ता बुझेको फेला परेको हो। त्यस्तै कर्मचारी बैठक भत्ता अन्तर्गत नै शेरबहादुर बुढा, हेमन्तराज पन्त, मिनराज ओझा, पदमराज भट्ट, जीतराज उप्रेती, पारशमणि जोशी, पदम ऐर, इन्द्रा साउँद, लालबहादुर साउँद र ऐनबहादुर बमले भत्ता रकम बुझेका छन्।
अनुगमन तथा मुल्यांक बैठकमा पनि कर्मचारीले भत्ता बुझेका छन्। हेमराज पन्त, पदमराज भट्ट, विष्णुराज भट्ट, सुरेसबहादुर साउँद, मिनराज ओझा, लक्ष्मीप्रसाद उपाध्याय, मिना कार्की, खगेन्द्रराज जोशी, जीतराज उप्रेती, कर्णबहादुर विष्ट, कविन्द्रराज विष्ट र पारसमणि जोशीले प्रतिव्यक्ति दुई हजार पाँच सयदेखि १२ हजार ७५० रुपैयाँसम्म भत्ता असुल गरेका छन्। ती कर्मचारीहरुको नाममा एक लाख ५३ हजार ८५० रुपैयाँ बेरुजू देखिएको छ।
आमन्त्रित सदस्यलाई पनि भत्ता
अमरगढी नगरपालिकाले आमन्त्रित सदस्यलाई पनि भत्ता बाँडेको छ। बैठकमा आमन्त्रित सदस्यका रुपमा थप व्यक्ति राख्न नपाइने तर विशेषज्ञ सेवा आवश्यक परेको अवस्थामा बढीमा तीन जनासम्म मात्र आमन्त्रित सदस्यलाई भत्ता प्रदान गर्न सकिने व्यवस्था छ।
तर अमरगढी नगरपालिकाले विशेषज्ञ नभएकाहरुलाई पनि आमन्त्रित सदस्यको रुपमा भत्ता बाँडेको फेला परेको छ। पदाधिकारी बैठक भत्तामा विशेषज्ञ नभएको पदमबहादुर ऐर, सुरेशबहादुर टमाटा, पदमराज भट्ट र जितराज उप्रेतीलाई प्रतिव्यक्ति १५ सय ५० देखि पाँच हजार एक सय रुपैयाँसम्म भत्ता बाँडिएको छ।
पदाधिकारीले नै बुझे बढी भत्ता
अमरगढी नगरपालिकाका पदाधिकारीले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली विपरीत भत्ता बुझेका छन्। यसरी भत्ता बुझ्नेमा पदाधिकारी केवि ताम्राकार, राधादेवी खड्का, इश्वरीदेवी टमाटा, बलराम भट्ट, गुजडे बोहरा, गिताकुमारी साउँद, हरिप्रसाद पाठक र गोविन्दसिंह भाटले नियमावली विपरीत भत्ता बुझेको पाइएको छ। उनीहरुको नाममा ६ हजार ८ सय रुपैयाँ बेरुजू आएको छ।
भ्रमण बिलभन्दा बढी भुक्तानी
अमरगढी नगरपालिकाले पालिकामा कार्यरत कर्मचारीलाई भ्रमण बिलभन्दा बढी रकम भुक्तानी गरेको समेत पाइएको छ। विरेन्द्रप्रसाद पन्त, पार्वतीदेवी झुकाल, डिल्लीराज जोशी र परमानन्द साहुले भ्रमण बिलभन्दा ४४ हजार ४५५ रुपैयाँ बढी रकम बुझेका हुन्। सो रकम ती कर्मचारीले फिर्ता गर्नुपर्ने देखिएको छ।