डडेल्धुरामा दुई मोटरसाइकल एकआपसमा ठोक्किए, तीनजना घाइते
डडेल्धुराः डडेल्धुरामा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
मंगलबार जिल्लाको आलिताल गाउँपालिका–४ को कार्यालय नजिक सोही वडाको बेल्भाडीका १९ वर्षीय कमल बोहराले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१० प ३९९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको आलिताल–८ का गणेश भट्टले चलाएको सुदूरपश्चिम ०१–०११ प ७८०१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा चालक कमल, मोटरसाइकलमा सवार आलिताल–४ की १४ वर्षीया खगेश्वरी बोहरा, ११ वर्षीया यसोदा बोहरा घाइते भएका छन्। खगेश्वरीको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। घाइते तीनै जनालाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ। अर्का मोटरसाइकल चालक भट्ट भने प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गगनसिंह भाटले बताए।