बैतडीको वीरभान हत्या प्रकरणः भागिरहेका २ जना डडेल्धुराबाट पक्राउ
बैतडीः बैतडीको वीरभान हत्या प्रकरणका थप २ जना पक्राउ परेका छन्।
बैतडीको पाटन नगरपालिका–६ का ५१ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा प्रहरीले थप २ जनालाई डडेल्धुराबाट पक्राउ गरेको हो। प्रहरीले घटनापछि भागिरहेका पाटन नगरपालिका–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराईलाई डडेल्धुराको भत्काडाबाट पक्राउ गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक भूपाल थापाले जानकारी दिए।
यसअघि प्रहरीेले हत्या आरोपमा पाटन नगरपालिका–६ की २६ वर्षीया भागरथी विष्टलाई पक्राउ गरिसकेको छ। २६ वर्षीया भागरथी विष्टले पुरुषको हत्या गरेको स्वीकार गरेकी हुन्। भागरथीले ती पुरुषको हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयान समेत दिएकी थिइन्। भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत छिन्।
एकल महिला समेत रहेकी उनको बयानपछि प्रहरी टोली शव व्यवस्थापन गर्नेको खोजीमा लागेको हो। शव भने नजिकैको खोल्सामा फेला परेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। भागरथीले असार १ गते आफ्नै घरमा विरभानको हत्या गरेकी थिइन्। हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र लाश लुकाएकी थिइन्।
उनले आइतबार राति मात्रै शव व्यवस्थापनका लागि घरबाट निकालेको खुलेको छ। तर, सोमबार स्थानीयले पक्राउ परेकी भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर लगिएको छाप देखेका थिए। त्यहाँ रगतसमेत देखिएकाले स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले भागरथीलाई पक्राउ गरेको हो।
विष्टको शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा प्रहरीले राजेन्द्र र किशोरलाई पक्राउ गरेको हो। शव व्यवस्थापनमा सहयोग गरेका थप एक जना अझै फरार रहेको र उनको खोजी जारी रहेको प्रहरी वरिष्ठ नायब निरीक्षक थापाले बताए। घटनाबारे अनुसन्धान जारी रहेको थापाले जानकारी दिए।