धनगढीमा प्रहरीमाथि प्रहरीकै मोलमोलाइ, तस्करीमा कारबाही भएपछि पोल खुल्यो
धनगढीः कैलालीमा प्रहरीले प्रहरीमाथि नै मोलमोलाइ गरेको विषय सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय, कैलाली मातहतको त्रिनगर प्रहरी चौकीमा कार्यरत हुँदा प्रहरी सहायक हलदार विक्रम चन्दसँग मोलमोलाइ गरिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको प्रादेशिक अनुसन्धान समूहका प्रहरी सहायक हलदार भूपेन्द्र सामन्तले चन्दसँग ५० हजारको मोलमोलाइ गरेका हुन। जिल्ला अनुसन्धान समूहबाट त्रिनगर प्रहरी चौकीमा खटिएका चन्दले सुर्ती लगायतको तस्करीको सामान कबाडमार्फत बिक्री गरेको विषय मिलाउने भन्दै भूपेन्द्र सामन्तले ५० हजारको माग गरेका थिए। प्रहरी सहायक हलदार विक्रम चन्दले ४० हजार रुपैयाँ घटना सार्वजनिक नहुँदै भूपेन्द्रलाई दिएको बताए।
तर, चन्दले तस्करीको सामान बिक्री गरेको, कबाड कारोबारीलाई कुटपिट गरेको भन्दै कारबाही भएपछि मोलमोलाइको विषय पनि सार्वजनिक भएको हो। धनगढी उपमहानगरपालिका–३ मिलनचोकका पूर्व प्रहरी नायब निरीक्षक मदन सिंह धामीलाई मिलाउनुपर्ने भन्दै चन्दबाट सामन्तले ४० हजार रुपैयाँ लिएका हुन। सामन्तले उक्त रकम धामीलाई दिएका चन्दले बताए।
यता, प्रादेशिक अपराध समूहका प्रहरी सहायक हलदार भूपेन्द्र सामन्तले विक्रम चन्दले बदनामी गर्न खोजेको बताएका छन्। कारबाहीमा परेपछि चन्दले विभिन्न बहानामा आफूलाई पनि बदनाम गर्न खोजेको उनले बताए। उनले भने, ‘त्यो केही पनि होइन। मेरो बदनाम गर्न लागेको हो। मैले रकम लिएको छैन। मदन धामीलाई दिएको पनि छैन। मलाई प्रादेशिक अपराध समूहबाट निकाल्ने खेल हो।’
धनगढीमा नौ महिनादेखि तस्करीको सामान बिक्री गर्दै आएको फेला परेपछि चन्दलाई कारबाही स्वरूप अछाम फिर्ता पठाइएको छ। हाल उनी अछामको मंगलसैन प्रहरी चौकीमा कार्यरत छन्। एक भारतीय कबाड व्यापारीले ३० हजार मूल्यमा कवाडीको सामान खरिद गरेको र २७ हजार तिर्न बाँकी रहेपछि चन्दले कुटपिट गरेको गुनासो गरेपछि चन्दले तस्करीको सामान बिक्री गर्दै आएको खुलेको थियो।