सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप भलिबल लिगमा सुदूरपश्चिमको पहिलो जित

२०८१ जेठ २३, ०७:०२ खबर संवाददाता

काठमाडौँः आठौँ प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा आज भएका खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको पहिलो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो। पुलिसको लगातार चौथो जितसहित फाइनलमा पुगेको छ। यस्तै आर्मीले न्यु डायमन्ड क्लबलाई ३–२ को सेटमा हरायो। पहिलो २ सेट जितेको न्यु डायमन्डले पछिल्लो ३ सेट गुमायो।

यस्तै पुरुषतर्फ सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छ्न। सुदूरपश्चिमले पहिलो जित हात पार्ने क्रममा कोशी प्रदेशलाई ३–१ को सेटमा हरायो। यस्तै पुलिसले आर्मीलाई ३–१ को सेटमा हरायो। पुरुषतर्फ नै अहिले हेल्प नेपाल र गण्डकी प्रदेश खेलिरहेका छन्। यो खेल सकिएपछि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र बूढानीलकण्ठ भलिबल क्लब खेल्नेछन्।

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ वटा टोली रहेका छन्। लिग चरणपछि पुरुष र महिला दुवैतर्फ शीर्ष दुई टोलीबीच जेठ २६ गते फाइनल खेल हुनेछ। पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन्।
 

कमेन्ट लोड गर्नुस