साफ महिला च्याम्पियनशिप नेपालमा हुने
काठमाडौँः साफ महिला च्याम्पियनशिप २०२४ नेपालमा हुने भएको छ। सातौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर १७ देखि ३० तारिखसम्म नेपालले आयोजना गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ।
साफ प्रतियोगिता समितिको आज बसेको बैठकले नेपाललाई साफ महिला च्याम्पियनशिप २०२४ को आयोजक स्वीकृत गरेको हो। प्रतियोगितामा साफका सात वटै देशको सहभागिता रहने छ। प्रतियोगिता काठमाण्डौको दशरथ रङ्गशालामा हुने तय भएको छ।
यसअघि सन् २०२२ को छैटौँ संस्करण पनि नेपालमा नै आयोजना भएको थियो। त्यो संस्करणमा नेपाल फाइनलमा बङ्ग्लादेशसँग ३–१ गोलले पराजित भएको थियो। साफ महिला च्याम्पियनशिपमा भारत सबैभन्दा सफल टोली हो। भारतले अहिलेसम्म पाँच पटक उपाधि जितेको छ।
यसैबीच एन्फाले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ। यसैगरी भगवती थापा सहायक प्रशिक्षक, विनोद महर्जन गोलकिपिङ कोच, ज्योति राना डाक्टर र नवीना श्रेष्ठ वैद्य फिजियो नियुक्त भएका छन्। यस्तै विन्द्रा देवानले टिम म्यानेजरका रूपमा निरन्तरता दिने एन्फाले जनाएको छ।