सुदूरपश्चिममा १६१ कार्यालयको बेहिसाब, झण्डै ३८ करोड नाघ्यो बेरुजू
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेश सरकार मातहतका १६१ कार्यायले कामभन्दा सरकारी रकम पचाउने काम मात्र गर्दै आएको पाइएको छ। ती कार्यालयको बेहिसाब रुपमा बेरुजू देखिएको छ।
अन्धाधुन्ध रुपमा सरकारी बजेटको दुरुपयोग हुने गरी ती कार्यालबाट खर्च भएको देखिएको छ। सरकारी बजेटको सदुपयोग कम र दुरुपयोग बढी हुने गरेको छ। उत्पादनभन्दा प्रतिफल नदिने र व्यक्ति विशेषलाई लाभ पुग्ने गरी सरकारी बजेटको दुरुपयोग प्रदेश सरकार मातहतका अधिकांश कार्यालयले गर्दै आएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारको रुजु हुन नसकेको आर्थिक कारोबारको रकम (बेरुजु) ह्वात्तै बढेको छ। आर्थिक वर्ष २०७९/८० को वित्तीय लेखापरीक्षणको ६१ औं प्रतिवेदनअनुसार सुदूरपश्चिमको बेरुजु ३७ करोड ६४ लाख रुपैयाँ पुगेको छ। बेरुजु रकम बढ्नुमा प्रमुख कारण राजस्व बक्यौता र बेरुजुको आकारलाई औंल्याएको छ।
सुदूरपश्चिम प्रदेश सरकार मातहतका सरकारी कार्यालय अन्य संस्था र समितितर्फको आर्थिक वर्ष २०७९/८० मा लेखा परीक्षण गर्दा बेरुजू बढेको पाइएको छ। सुदूरपश्चिममा १६१ कार्यालयको लेखा परीक्षण गरिएको छ। ३९ अर्ब ४३ करोड ९९ लाख रकमको लेखा परीक्षण गर्दा ३७ करोड ६४ लाख बेरुजू देखिएको हो।
पेश्कीबाहेकको बेरुजू रकम मात्र २३ करोड १४ लाख देखिएको छ। सरकारी बजेट खर्च गर्नै नहुने क्षेत्रमा पनि व्यक्ति विशेषलाई पोस्न खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदनले प्रचलिन ऐन र व्यवस्था विपरीत खर्च गरिएको रकम र पेश्की रकम असुल हुनुपर्ने औल्याएको छ।