‘मेगासिटी’को योजना सुदूरपश्चिमबाटै गायब! अब मेगा फुडपार्क
वीरेन्द्र भट्ट, धनगढीः संघीय सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा ‘धनगढी–अत्तरिया मेगासिटी’ बनाउने बडो महत्त्वाकांक्षी योजना सार्वजनिक गर्यो। तर ‘मेगासिटी’ भनेको के हो? कम्तीमा एक करोड जनसङ्ख्या बसोबास गर्ने व्यवस्थित महानगरलाई ‘मेगासिटी’ भन्ने गरिएको छ। तर अहिलेसम्म ‘मेगासिटी’ योजना र निर्माणको प्रक्रिया भने अगाडि बढ्न सकेको छैन्।
कस्तो हुन्छ ‘मेगासिटी’?
साना सहरलाई गाभेर ‘मेगासिटी’ बनाइन्छ। ‘मेगासिटी’मा सबै सुविधा हुन्छन्। विकसित मुलुकमा एउटा मेगासिटी’कम्तीमा एक करोड मानिस बस्छन्। न्यू योर्क, साङ्घाइ, टोक्यो, बेइजिङ, ढाका, मुम्बइजस्ता धेरै आवादी भएका महानगरलाई ‘मेगासिटी’मान्ने गरिएको छ।
‘मेगासिटी’मा एउटा अत्याधुनिक शहरमा हुने सबै खालका पूर्वाधारहरु हुने भएकोले औद्योगिक क्षेत्र, बजार, बसोबास, वित्तीय क्षेत्र व्यवस्थित रुपमा निर्माण हुन्छन्। भविष्यमा जोडिन सक्ने नगरहरूको एकीकृत तथा योजनाबद्ध सहरीकरण विकासका लागि भन्दै ‘मेगासिटी’ निर्माणको अवधारणा ल्याइएको भए पनि यो योजना केबल घोषणामा मात्र सिमित छ।
पुराना ६ आयोजनाको निरन्तरता
संघीय सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रमले सुदूरपश्चिमका लागि केही नयाँ र बाँकी सबै पुराना योजना समेटेको छ। नीति तथा कार्यक्रममा सुदूरपश्चिममा मेगा फुडपार्कदेखि स्वास्थ्य विज्ञान विश्वविद्यालय, क्रिकेट रङ्गशाला निर्माण लगायत योजना समेटिएको छ।
विगतका वर्षहरूमा सुदूरपश्चिममा मोनोरेल, मेगा सिटी बनाउने लगायतका कार्यक्रम समावेश हुने गरेको थियो। तर कुनै पनि योजना अघि बढ्न सकेनन्। यस वर्ष सरकारले मेगा फुडपार्क बनाउने कार्यक्रम राखेको छ। गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई ३ सय शय्या क्षमताको मेडिकल कलेज र प्राज्ञिक कार्यक्रम आर्थिक वर्ष २०८१/८२ मै सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ।
सरकारले गेटामा भवन निर्माण गर्न करिब ६ अर्ब खर्च गरेको छ। ६ सय शय्याको अस्पताल सञ्चालन गर्ने पूर्वाधार निर्माण भइसकेको अवस्थामा तीन सय शय्याको विषयमा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। त्यस्तै देशकै ड्रिम मेगा प्रोजेक्टको रुपमा रहेको धनगढीस्थित फाप्ला क्रिकेट रङ्गशाला निर्माणको विषयलाई पनि सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ।
सरकारले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला तथा खेलग्रामको पूर्वाधार निर्माणका लागि जग्गाको भोगाधिकार दिएसँगै ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ जारी गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको छ। रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको पूर्वतयारीमा समिति जुटेको छ।
सुदूरपश्चिममा विगतका सरकारहरूले हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी उद्योगिक क्षेत्र, दैजी–छेला औद्योगिक क्षेत्र, लालपुर–हरैया विशेष आर्थिक क्षेत्र बनाउने भनेर कार्यक्रम ल्याएको देखिन्छ। तर कार्यान्वयनमा केही पनि देखिएको छैन्। दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणलाई तीव्रता दिइने भनेर नीति तथा कार्यक्रममा समावेश गरिएको छ। विगतका सरकारहरूले पनि यो योजनालाई अगाडि बढाउने भन्दै प्रचारबाजी गरेका थिए।