सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा हुरीबतासले विद्यालयको छाना उडायो

२०८१ जेठ ३, ०४:०८ खबर संवाददाता

बैतडी : हुरीबतासले बैतडीको एक विद्यालय भवनको छानो उडाएको छ। बुधवार साँझ आएको हावाहुरीले जिल्लाको सुर्नया गाउँपालिका–२ चिल्लेपानीस्थित सरस्वती आधारभूत विद्यालयको भवनको छानो उडाएको हो।

विद्यालयको पाँचकोठे भवनमध्ये दुई कोठाको छानो हुरीबतासले उडाउँदा पूर्ण रूपमा क्षति भएको विद्यालयका प्रधानाध्यापक धीरबहादुर चन्दले बताए। उनका अनुसार बाँकी तीन कोठाको छानोमा पनि आंशिक रूपमा क्षति भएको छ।

हुरीबतासले विद्यालय भवनको छानो उडाएपछि पठनपाठनमा समस्या भएको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयमा दुईकोठे कार्यालय भवन र पाँचकोठे भवनमात्रै रहेको प्रअ चन्दले बताए। उनका अनुसार कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा ५२ विद्यार्थी अध्ययनरत छन्। छानो मर्मत नहुँदासम्म पठनपाठनमा समस्या हुने उनको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस