दीपेन्द्र आईसीसी टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा
काठमाडौंः नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष दशमा अटाएका छन्। आईसीसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र टी–२० अलराउण्डरतर्फ १०औं स्थानमा छन्।
उनले एक स्थान सुधार गरेका हुन्। टी–२० अलराउण्डरतर्फ श्रीलंकाका वानिन्दु हसरंगा शीर्षस्थानमा छन्। दीपेन्द्र भन्दा अघि इंग्ल्यान्डका मोईन अली नवौं र लियाम लिभिङस्टोन आठौं स्थानमा छन्। दीपेन्द्र शीर्ष दशमा अट्ने एसोसिएटको एक्लो अलराउण्डर हुन्।
अलराण्डरतर्फ एसोसिएटबाट दीपेन्द्रपछि नामिबियाका जेराल्ड इरास्मस १३औं स्थानमा छन् । टी–२० को अलराउण्डरतर्फ कुशल मल्ल ३२औं र गुलशन झा ६०औं स्थानमा यथावत् छन्। रोहित पौडेल एक स्थान घट्दै ६५औं स्थानमा र करण केसीले एक स्थान सुधार गर्दै ७४औं छन् । टी–२० को बलिङको वरीयतामा सोमपाल कामी ९२औं स्थानमा यथावत् छन्।
ब्याटिङतर्फ टी–२० मा दीपेन्द्र ५०औं स्थानमा यथावत् छन्। रोहित पौडेल तीन स्थान तल झर्दै ६१औं स्थानमा पुगेका छन्। आसिफ शेख एक स्थान तल झर्दै ८७औं स्थानमा छन्। नेपाल टी २० आई वरीयतामा १७औं स्थानमा छ।