सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमलबजार विमानस्थल सञ्चालनको माग, यात्रु नभए टिकटको पैसा बेहोर्ने

२०८१ माघ ८, ०७:५९ खबर संवाददाता

अछाम: अछामको कमलबजार विमानस्थल सञ्चालनको माग गरिएको छ।

जिल्ला सदरमुकाम मङ्गलसेनमा बसेको ६ स्थानीय तहका प्रमुखको बैठकले कमलबजार विमानस्थल सञ्चालन गरी हप्ताको एक दिन न्यूनतम तीन महिना विमान चलाउनका लागि आवश्यक सहयोग गर्न सहमति भएको हो।

कमलबजार, पञ्चदेवल विनायक र मङ्गलसेन नगरपालिका, ढकारी, तुर्माखाँद र रामारोशन गाउँपालिकाले नियमित विमान सञ्चालनमा सहयोग गर्ने भएका हुन। कमलबजार विमानस्थल नियमित सञ्चालनका लागि स्थानीयस्तरमा दबाब हुँदै आएको छ। कमलबजारमा नियमित विमान चलेपछि यस क्षेत्रको यातायात, पर्यटन र आर्थिक विकासमा सहजता हुने अनुमान गरिएको छ। निजीस्तरको विमानलाई हप्ताको एक दिन नियमित उडानमा यात्रु अभावबापतको टिकट खर्च स्थानीय तहले बेहोर्ने सहमति गरेका हुन्। कमलबजार आउने र जाने प्रत्येक उडानका क्रममा कम यात्रु सिटको रकम स्थानीय तहले तिर्नुपर्ने छ।

खाली भएको यात्रु सिटमध्येमा ५० प्रतिशत सिटको कमलबजार नगरपालिका र बाँकी रहेका अन्य सिटको पाँच स्थानीय तहले रकम बेहोर्ने भएका हुन्। विमान नियमित भएमा यात्रु अभाव नहुने र स्थानीय तहलाई टिकटको भार नपर्ने पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले बताइन।

प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जनप्रतिनिधि, कर्मचारी, व्यापारी र अन्यले हवाईजहाजको उपयोग गर्ने भएकाले यात्रु समस्या नभएको बताए। कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले संस्कृति तथा नागरिक उड्डयनमन्त्रीसँगको समन्वयमा हवाईजहाजका निजी कम्पनीसँग सम्झौता गरेर नियमित रूपमा कम्तीमा हप्ताको एक उडान गर्ने बताए।

कमलबजारबाट नेपालगन्ज उडानलाई अहिले प्राथमिकता दिइएको छ भने आवश्यकता अनुसार उडान गर्ने योजना रहेको बताइएको छ।

विसं २०४९ मा कमलबजार विमानस्थलको निर्माण प्रारम्भ गरिएको थियो । निर्माण सम्पन्न भएर विमान उडानको पर्खाइमा रहेको कमलबजार विमानस्थलको रिपिटर टावरमा २०५८ सालमा तत्कालीन नेकपा (माओवादी) को आक्रमणले विमानस्थल बन्द थियो। लगभग ३२ वर्षपछि गत पुस १३ गते तारा एयरको विमानले कमलबजार विमानस्थलको परीक्षण उडान गरेको थियो।

 

कमेन्ट लोड गर्नुस