सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीले जित्यो प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

२०८० फाल्गुन २२, ०५:५३

धनगढीः सुदूरपश्चिम प्रदेशस्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली विजयी भएको छ।

धनगढी रङ्गशालामा सम्पन्न प्रतियोगितामा कैलालीले ६४ पदकसहित विजयी भएको हो। कैलालीले ३१ स्वर्ण, १८ रजत र १५ कास्यसहित ६४ पदक ल्याएर उपाधि जित्न सफल भएको छ। त्यस्तै कञ्चनपुर दोस्रो र डडेल्धुरा तेस्रो भएको छ। कञ्चनपुरले १९ स्वर्ण, १८ रजत र १५ कास्य गरि ५२ पदक र डडेल्धुराले ७ स्वर्ण, १० रजत र १६ कास्य गरि ३३ पदक सहित तृतीय भएको हो।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय जिल्लालाई सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दीपकबहादुर सिंहले नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए। प्रतियोगितामा सहभागी अन्य बैतडीले ५ स्वर्ण, २ रजत र १० कास्य गरि १७ पदक, बझाङले २ स्वर्ण, ४ रजत र १३ कास्य गरि १९ पदक, बाजुराले १ स्वर्ण, ६ रजत र १३ कास्य गरि २०, अछामले १ स्वर्ण, १ रजत र ६ कास्य गरि ८, दार्चुलाले ४ रजत र ३ कास्य गरि ७, र डोटीले ३ रजत र ८ कास्य गरि ११ पदक जितेका छन्।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट केन्द्रमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने प्रदेश खेलकुद परिषदले जनाएको छ।

कमेन्ट लोड गर्नुस