गौरीगंगा गोल्डकप स्थगित
धनगढी : कैलालीको गौरीगंगामा हुने भनिएको चौथो संस्करणको गौरीगंगा गोल्डकप स्थगित भएको छ। प्रतिकूल मौसमका कारण उद्घाटनको तयारीमा रहँदा पनि गोल्डकप स्थगित गरिएको हो।
वर्षा भएपछि उद्घाटन समारोहसहित प्रतियोगिता तीन दिन पछि सारिएको छ। यसअघि फागुन १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने भनिएको प्रतियोगिता अब भने फागनु २२ गतेदेखि चैत १ गतेसम्म आयोजना गरिने आयोजक गौरीगंगा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले बताए। यसअघि प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले गर्ने तय भएको थियो।
प्रतियोगिता तीन दिन पछाडी सरेपनि खेल तालिका भने यथावत् राखिएको छ। यसअघि सार्वजनिक गरिएको खेल तालिका अनुसार नै खेलहरू आयोजना हुने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेल घोडाघोडी युवा क्लब र सुदूरपश्चिम–११ स्पोर्टस क्लबका बीचमा हुने छ। गौरीगंगाको लिक्मा खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ।
कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यो सिजन १० टोलीको सहभागिता रहेको छ। यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन। सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन।
कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रङ्गशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ। अध्यक्ष कलेलले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पूर्वाधार निर्माणका लागि दबाब दिन विगतदेखि गोल्डकप आयोजना गर्दै आएको बताए।