सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ यू–१६ च्याम्पियनसिप आजबाट सुरु हुँदै

२०८० फाल्गुन १८, ०५:५८ खबर संवाददाता

काठमाडौं: साफ अन्डर–सिक्सटिन महिला च्याम्पियनसिप आजदेखि नेपालमा सुरु हुँदै छ। यसअघि १५ वर्ष मुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि अन्डर सिक्सटिन उमेर समूहमा खेलिन लागेको हो।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश र भुटान सहभागी छन्। घरेलु मैदानमा नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ। प्रि–म्याच प्रेस कन्फ्रेन्समा नेपाली अन्डर–सिक्सटिन महिला टोलीका मुख्य प्रशिक्षक चक्र तामाङले घरेलु मैदानमा नेपालले प्रतियोगिता जित्ने दाबी गरेका छन्।

नेपाल प्रतियोगिताको साबिक विजेतासमेत हो। सन् २०२२ मा बंगलादेशमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो। सिंगल राउन्डमा हुने प्रतियोगितामा सहभागी प्रत्येक टिमले एक–आपसमा खेल्नेछन्। लिग चरणका ६ खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन्।प्रतियोगिताको उद्घाटन खेलमा भारत र भुटान आमने–सामने हुनेछन्। घरेलु टोली नेपालले पहिलो खेलमा शनिबार बंगलादेशको सामना गर्नेछ। प्रतियोगिताका सबै खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछन्। फाइनल खेल फागुन २७ गते हुनेछ।

कमेन्ट लोड गर्नुस