धनगढीमा कपाल काट्ने पेशामा जम्दै थारू समुदायका युवा
धनगढीः धनगढीमा कपाल काट्ने पेशामा थारू समुदायका युवा जम्न थालेका छन्।
करिब १० वर्ष अगाडिसम्म भारतीयको एकछत्र राज रहेको हेयर कटिङमा स्थानीय युवाको उपस्थिति बढेको हो।
कैलाली जिल्लाभर दुई सयभन्दा बढी व्यक्ति नाइँ संघमा आबद्ध छन्। तीमध्ये थारू समुदायका युवाहरूको सङ्ख्या दुई तिहाइ रहेको छ। हेयर सैलुन चलाउने पेशामा स्थानीय युवा जम्न थालेपछि भारतीय नागरिकको दबदबा कम हुँदै गएको हो।
विदेशको मोह त्यागेर स्वदेशमा स्वरोजगार
कैलालीको कैलारी गाउँपालिका– ४ नवलपुरका २६ वर्षीय युवा निर्मल चौधरी धनगढी–८ बुद्धचौकमा हेयर कटिङको काम गर्न थालेको ६ वर्ष भयो। एन के हेयर कटिङका सञ्चालक चौधरीले कपाल काट्ने पेशाबाट सन्तुष्ट रहेको बताएका छन्। उनले विदेश जाने सोच त्यागेर कपाल काट्न १५ दिने तालिम लिएर काम गर्न थालेका हुन्।
यस्तै कैलालीको भजनी नगरपालिका लालबोझीका कान्छी चौधरीले धनगढी–८ मा कान्छी हेयर कटिङ खोलेको १५ वर्ष भयो। आफूसँगै थप दुई जनालाई समेत काम दिँदै आएका चौधरीले कपाल काट्ने व्यवसायबाटै धनगढीगाउँमा जग्गा जोडेर घरसमेत निर्माण गरेका छन्।
यो पेशाबाट बालबच्चा पढाउन र अन्य खर्च जुटाउन सहज भएको कान्छी चौधरीले बताए। ‘मैले १५ वर्ष अगाडि धनगढीमै जनकपुको दाइसँग कपाल काट्न सिकेको हुँ। त्यसपछि आफ्नै हेयर कटिङ खोलेको पनि १५ वर्ष भयो,’ उनले भने, ‘यो पेशा राम्रो छ। आफूसँगै दुई जना भाइहरूलाई पनि काम दिन सकिएको छ। केहीले कपाल काट्न सिकेर गाउँमा आफ्नै सैलुन पनि खोलेका छन्। घर खर्च चलाउन बालबच्चा पढाउन सकिएकै छ अरू के नै चाहियो र?,’ उनले अगाडि भने, ‘घरमै बसेर आफ्नै काम गर्नु मिलेको छ। त्यसैले खुसी छु।’
सजिलै सिकिन्छ कपाल काट्न
कैलारी गाउँपालिका–१ हसुलियाका ३० वर्षीय युवा राकेश चौधरीको धनगढी क्याम्पस चोकमा डिके हेयर कटिङ एण्ड जेन्स पार्लर छ। राकेशले जुन पार्लरमा कपाल काट्न सिके त्यसैमा काम गर्दै पार्लर नै खरिद गरेका हुन्। कपाल काट्ने पेशामा आम्दानी ठिकठिकै रहेकाले विदेश जाने सोच त्यागेर कपाल काट्ने पेशामै लागेको राकेशले बताए। उनले भने, ‘कपाल काट्ने व्यवसायबाट ठिकैको आम्दानी भइरहेको छ। दिनभर खाली बस्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘विदेश जानु भन्दा कुनै दिन थोरै भए पनि स्वदेशकै आम्दानी ठिक छ। घर–परिवारसँगै बस्न पनि मिल्छ। कपाल काट्न थालेदेखि विदेश जाने रहर पलाएन।’
भारतीय नाईको सङ्ख्या घट्दै
करिब १५ वर्ष अगाडिसम्म धनगढीका हेयर सैलुनहरूमा भारतीयहरूको एकछत्र राज थियो। अहिले कैलाली जिल्ला नाई संघमा आबद्ध सैलुनको सङ्ख्या दुई सयभन्दा अधिक छ। सैलुनको सञ्चालक र त्यहाँ काम गर्ने दुई तिहाइ जनशक्ति थारू समुदायको युवा छन्।
थोरै लगानीमा समेत काम सुरु गर्न सकिने भएकाले कपाल काट्ने पेशा राम्रो भएको नाई संघ कैलालीका अध्यक्ष एवं प्रिया जेन्स पार्लरका सञ्चालक सुबोधकुमार ठाकुर। ‘कपाल काट्ने पेशा केही दिनको तालिमपछि सिक्न सकिन्छ। तालिमपछि आफैले व्यवसाय गर्न पनि सकिन्छ,’ उनले भने, ‘कपाल काट्ने पेशामा यहाँ युवाहरूको सङ्ख्या बढेको छ। विदेश जानुभन्दा थोरै लगानीमा काम सुरु गर्न सकिन्छ।’
धनगढी–१ घर भएका सुबोधकुमार ठाकुरले २५ वर्ष अगाडि मेन रोड हुलाक कार्यालय अगाडि प्रिया जेन्स पार्लर खोलेका हुन्। उनले आफू स्वरोजगार भएर थप ६ जनालाई रोजगारी दिएका छन्।