सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको संख्या ८४६ पुग्यो, निक्षेप संकलन ह्वात्तै

२०८० माघ २२, ०१:२८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको संख्या ८ सय ४६ पुगेको छ।

सबैभन्दा बढी कैलालीमा तीन सय ६१ र सबैभन्दा कम बाजुरामा २८ बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा छन्। कैलालीमा वाणिज्य बैंक एक सय ३२, विकास बैंक ३०, वित्त कम्पनी चार र लघुवित्त विकास बैंकको शाखा संख्या सबैभन्दा बढी एक सय ९५ सञ्चालनमा रहेको नेपाल राष्ट्र बैंक धनगढीको अभिलेख छ। कञ्चनपुरमा वाणिज्य बैंक ६६, विकास बैंक ११, वित्त कम्पनी एक र लघुवित्त विकास बैंकका शाखा संख्या एक सय ९ छन्।

पहाडी जिल्ला अछाममा वाणिज्य बैंक १८ विकास बैंक तीन, वित्त कम्पनी शून्य र लघुवित्त विकास बैंकको शाखा संख्या ३४ वटा सञ्चालनमा छन्। त्यस्तै डोटीमा वाणिज्य बैंक १९, विकास बैंक एक र लघुवित्त विकास बैंक २८ सञ्चालनमा छन्। डडेल्धुरारमा वाणिज्य बैंक २५ विकास बैंक एक र लघुवित्त विकास बैंकको संख्या २८ देखिएको छ। उता बैतडीमा वाणिज्य बैंक १९, विकास बैंक दुई र लघुवित्त विकास बैंक २० वटा सञ्चालनमा छन्।

त्यस्तै दार्चुलामा वाणिज्य बैंक २०, विकास बैंक दुई र लघुवित्त विकास बैंक १२, बझाङमा वाणिज्य बैंक १८, विकास बैंक एक र लघुवित्त विकास बैंक १९ तथा सबैभन्दा कम बाजुरामा वाणिज्य बैंक १३, विकास बैंक एक र लघुवित्त विकास बैंकको संख्या १४ देखिएको छ। प्रदेशका नौवटै जिल्लामा गरी कुल वाणिज्य बैंकको संख्या तीन सय ३०, विकास बैंक ५२, वित्त कम्पनी पाँच र सबैभन्दा बढी लघुवित्त विकास बैंक चार सय ५९ रहेको राष्ट्र बैंकको तथ्यांक छ।

२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा संकलन गरेको कुल निक्षेप २०७९ असार मसान्तको तुलनामा १६ दशमलव शून्य ९ प्रतिशतले बढेर एक खर्ब ३४ अर्ब २६ करोड २० लाख पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो निक्षेप ५ दशमलव ८६ प्रतिशतले वृद्धि भएको थियो। २०८० असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०७९ असार मसान्तको तुलनामा १ दशमलव ५० प्रतिशतले वृद्धि भएर १ खर्ब ५१ अर्ब ७१ करोड २९ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा १७ दशमलव ४२ प्रतिशतले वृद्धि भएको थियो।

कमेन्ट लोड गर्नुस