सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली भन्सारको राजस्व असुलीमा गिरावट

२०८० पुष २९, ०२:५० खबर संवाददाता

धनगढीः कैलाली भन्सारको राजस्व असुलीमा गिरावट आएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन्।

सुदूरपश्चिम प्रदेशकै प्रमुख भन्सार नाका कैलाली भन्सारको राजस्व असुली वर्षेनि घट्दै गएको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ देखि राजस्व असुली घट्दै गएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा चार अर्ब ५८ करोड ३५ लाख २५ हजार राजस्व असुलीको लक्ष्य निर्धारण गरिएकोमा दुई अर्ब ९६ करोड ७१ लाख ३० हजार रुपैयाँ मात्र संकलन भएको सूचना अधिकारी पवित्रकुमार खड्काले बताए।

भन्सार विभागले कैलाली भन्सारका लागि चालू आर्थिक वर्षमा ११ अर्ब ५८ करोड २४ लाख ७० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य निर्धारण गरेको छ। पेट्रोलियम पदार्थ, ग्यास, ब्ल्यांकेट, दालमोठ, टायल, मार्बललगायत वस्तुको आयातबाट सबैभन्दा बढी राजस्व असुली हुने गरेको छ।

पाँच महिनामा पेट्रोलियम पदार्थबाट ४३ करोड ७५ लाख, ग्यासबाट २८ करोड ५१ लाख, दालमोठ, पापड, भुजियाबाट साढे दुई करोड र ब्ल्यांकेटबाट एक करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको छ। आयात नै घटेकाले राजस्व असुलीमा कमी आएको भन्सार अधिकृत समेत रहेका खड्काले बताए।

गत वर्ष १२ अर्ब ३० करोड ६६ लाख राजस्व असुलीको लक्ष्य लिएकोमा ८ अर्ब २९ करोड ७३ लाख मात्र राजस्व संकलन भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा ११ अर्ब ८२ करोड ३९ लाख राजस्व असुलीको लक्ष्य रहेकोमा ९ अर्ब ५८ करोड २६ लाख तथा आर्थिक वर्ष २०७७/७८ मा ८ अर्ब २१ करोड ७३ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य निर्धारण गरिएकोमा ८ अर्ब ८४ करोड १४ लाख असुली भएको थियो।

कमेन्ट लोड गर्नुस