सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बेचिन थाले फूल, बढ्न थाल्यो आम्दानी

२०८० कार्तिक ४, १०:५४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले प्लाष्टिकका फूल विक्रीवितरणमा प्रतिबन्ध लगाएको छ। धनगढीमा ११ महिनादेखि प्लाष्टिकको फूल र प्लाष्टिकमा उपमहानगरले प्रतिबन्ध लगाएपछि त्यसको बजार स्थानीय उत्पादनले लिन थालेको छ।

धनगढीमा प्लाष्टिकका झोला ९पोलिथिन० समेत विक्रीवितरण गर्न प्रतिबन्ध छ। हरेक वर्ष धनगढीमा सयपत्री, मखमली, सयत्री लगायत फूलको चरम अभाव हुने गरेको थियो। तर यस वर्ष भने उपमहानगरले मानव निर्मित प्लाष्टिकका फुल विक्रीवितरणमा उपमहानगरले प्रतिबन्ध लगाएपछि स्थानीय उत्पादनले बजार पाउन थालेको छ।

दसैं र तिहारमा यस वर्ष फूल अभाव नहुने गरी दर्जनौ किसान फुल उत्पादनमा लागेका छन्। धनगढीका किसान फूल खेतीमा लागेपछि फूल आयात गर्नुपर्ने बाध्यता हट्ने सुनिश्चित देखिएको छ। स्थानीय किसानले धनगढीमा सयपत्री फूल उत्पादन गरेका छन्। फूल उत्पादनमा धनगढीलाई आत्मनिर्भर बनाउने योजना अनुसार दुई दर्जन बढी किसानले फूल खेती सुरु गरेका छन्।

उत्पादित फूलको बजारीकरण गर्न उपमहानगरले सहयोग गर्ने भएपछि किसानहरूले अर्को वर्षबाट दोब्बर क्षेत्रफलमा पुष्पखेती गर्ने भएका छन्। यो वर्ष दुई कट्ठामा फूल खेती गरेका धनगढी–१२ जुगेडाका प्रतापसिंह बिष्टले अर्को वर्षबाट दुई बिघा जग्गामा फूलखेती गर्ने योजना बनाएका छन्। त्यस्तै धनगढी–६ मटियारीमा सुशीला बिष्ट र शंकरसिंह बिष्टले यो वर्ष डेढ बिघा जग्गामा पुष्पखेती गरेका छन्।

धनगढी उपमहानगरपालिकाले दिएको पुष्पखेती सम्बन्धी तालिम लिएका बिष्ट दम्पतीले डेढ बिघा जग्गामा मखमली र सयपत्री फूल रोपेका छन्। यो वर्ष १० टन फूल उत्पादन गर्ने लक्ष्य राखेका बिष्ट दम्पती बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने भएपछि थप उत्साहित छन्। धनगढी उपमहानगरपालिकाले गएको जेठमा २६ जना किसानलाई पुष्पखेती सम्बन्धी एक हप्ते तालिम दिएको थियो।

तालिम लिएका सबैले दुई कट्ठादेखि डेढ बिघा जग्गामा पुष्पखेती सुरु गरेका छन्। धनगढी–१२ जुगेडा ‘डी’ गाउँकी आशा पन्त मिश्र गत वर्षबाट फूल खेती गर्न थालेकी हुन्। गत वर्ष २० हजारको मखमली र ६० हजारको सयपत्री फूल बिक्री गरेकी मिश्रले यो वर्ष डेढ कट्ठामा कलकत्ते, स्थानीय र कर्मा पाँच सय ५५ जातको सयपत्री फूल लगाएकी छन्। यस्तै, धनगढी–१२ ‘सी’ गाउँ की कृतिका चन्दले पाँच कट्ठामा दुई हजार फूलका बिरुवा लगाएकी छन्। चन्दको यो वर्ष ८ टन फूल उत्पादन गर्ने लक्ष्य छ।

त्यस्तै धनगढी–१३ अम्बिका टोलका पुष्करसिंह बिष्टले ११ कट्टा जग्गामा पुष्पखेती गरेका छन्। ६ हजार बिरुवाबाट ६ टन फूल उत्पादन गर्ने लक्ष्य बिष्टको छ। उपमहानगरले गत जेठमा दिएको पुष्पखेती सम्बन्धी तालिम र अहिले उत्पादित फूलको बजारीकरण गर्न सहयोग गर्ने बताएपछि अन्य किसान जस्तै पुष्कर पनि उत्पादन भएको फूल बिक्री हुनेमा ढुक्क छन्। धनगढी उपमहानगरपालिकाले भारतबाट आयात हुने प्लास्टिकजन्य फूल र फूलका माला बिक्री वितरणमा गत वर्षबाटै रोक लगाएको छ।

यो वर्ष पनि प्लास्टिकजन्य फूल र माला आयात, भण्डारण र बिक्री वितरण नगर्न उपमहानगरले सार्वजनिक अपिल गरेको छ। फूल उत्पादनमा धनगढीलाई आत्मनिर्भर बनाएर निर्यातसमेत गर्ने योजना धनगढी उपमहानगरपालिकाको छ। नगर प्रमुख गोपाल हमालले किसानले उत्पादन गरेको फूल बिक्री हुन नसके उपमहानगरले किनेर बजार खोज्न सहयोग गर्ने बताए।

कमेन्ट लोड गर्नुस