माछा उत्पादनमा आत्मनिर्भर बन्दै कैलाली र कञ्चनपुर, बर्सेनि २५ हेक्टर पोखरी विस्तार
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा माछा उत्पादन बढ्दै गएको छ। माछा उत्पादनका लागि हरेक वर्ष कैलालीमा १५ तथा कञ्चनपुरमा १० गरी २५ हेक्टरमा नयाँ पोखरीहरुको निर्माण भइरहेको छ। पोखरीको क्षेत्रफल विस्तार सुदूरपश्चिममा वार्षिक ७ प्रतिशतले वृद्धि हुँदै गएको देखिएको हो।
पोखरी विस्तारसँगै माछा उत्पादनमा पनि बर्सेनि ५ प्रतिशतले वृद्धि हुँदै गएको तथ्यांक छ। प्रदेशभित्र वार्षिक ५ लाखका दरले माछाका भुराको माग समेत बढ्दै गएको छ। मागअनुसार भुरा उत्पादन गर्न मत्स्य विकास केन्द्र गेटाले २० बिघामा ४२ वटा पोखरी निर्माण गरेको भएपनि आधा पोखरीमा मात्र भुरा उत्पादन भइरहेको छ।
सुदूरपश्चिममा यसैगरी उत्पादन बढ्दै जाने हो भने अबको १० वर्षभित्र माछामा प्रदेश आत्मनिर्भर हुने मत्स्य विकास केन्द्र गेटाका प्रमुख सुर्य शाहीले बताए। ‘प्रदेश सरकारले माछा उत्पादनका लागि पोखरी निर्माणदेखि ढुवानीसम्म अनुदानको व्यवस्था गरेपछि मालापालक किसानको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको देखिन्छ’ उनले भने, ‘गेटामा उत्पादित भुरा दैलेखसम्म पुग्ने गरेको छ।’
निजी क्षेत्रले भुराको माग पूरा गर्न नसकेको अवस्थामा सरकारी स्वामित्वको मत्स्य विकास केन्द्र गेटाले मागको ५० प्रतिशत माछाका भुरा आपूर्ति गर्दै आएको छ। सुदूरपश्चिममा अहिले पनि माछाका भुरा कपिलवस्तु, भैरहवा, रुपन्देही तथा सीमा जोडिएका जिल्ला हुँदै भारतबाट आयात भइरहेको छ। ‘पंगास, मांगुर, रुपचन्द्र तथा टिलापियाको दाना तथा भुराका लागि हामीले भारत र बंलादेशसँग भर पर्नुपरेको छ भने औषधिका लागि पनि परनिर्भरकै अवस्था छ’ मत्स्य विकास केन्द्रका प्रमुख शाहीले भने।
गत आर्थिक वर्ष २०७८/७९ मा मत्स्य विकास केन्द्र गेटाले ५ करोड ह्याचलिङ र ३५ लाख फ्राई तथा ३५ लाख फिङ्गरलिङ उत्पादन तथा विक्री वितरण गरेर ५५ लाख राजस्व संकलन गरेको तथ्यांक छ। दैनिक २ लाख भुरा तथा ३० लाख ह्याचलिङ उत्पादन क्षमता केन्द्रसँग रहेको छ।
प्रदेश सरकारले नयाँ पोखरी विस्तार गर्ने किसानलाई प्रति हेक्टर ३ लाख र २५ प्रतिशत भुरा तथा ढुवानीमा समेत अनुदान दिने व्यवस्था गरेको छ। सुदूरपश्चिममा माछाको उत्पादन बढेसँगै उपभोग गर्नेको संख्या पनि बढ्दै गएको छ। प्रदेशभित्र प्रति व्यक्तिले वार्षिक २ दशमलव १ किलोग्राम माछा उपयोग गर्दै आएको केन्द्रले जनाएको छ।