सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बजेट खर्चको अवस्था निराशाजनक

२०७९ साउन ४, ०६:३६ रोशन भट्ट

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८/०८९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार बजेट ल्याएको थियो। चालु र पुँजीगततर्फ कार्यान्वयन गर्नेगरी उक्त बजेट ल्याइएको हो। तर सो बजेट कार्यान्वयनको अवस्था भने निरासाजनक देखिएको छ। गत वर्ष कूल बजेटको ६६ प्रतिशत अर्थात २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार मात्रै खर्च भएको छ। 

बाँकी १० अर्ब बजेट खर्च गर्न सुदूरपश्चिम प्रदेश सरकार असफल भएको हो। चालुतर्फ १२ अर्ब ३८ करोड ५४ लाख बजेट रहेकोमा ९ अर्ब १ करोड ६४ लाख मात्रै खर्च भएको छ। भने, १७ अर्ब ६५ करोड ४० लाख बजेट रहेको पुँजीगततर्फ पनि ११ अर्ब ९४ करोड ९७ लाख मात्रै कार्यान्वयन भएको हो। 

कर्मचारी अभावका कारण अपेक्षा अनुसार बजेट खर्च नभएको भनाई आर्थिक मामिला मन्त्रालयका सचिव जितेन्द्र बस्नेतको छ। ‘अहिले पनि हामी ४० प्रतिशत कम जनशक्तिबाट सय प्रतिशत काम गर्नु पर्ने अवस्थामा छौं,’ उनले भने, ‘यो भनेको बोकालाई कुभिन्डो भने जस्तो अथवा ठुलो भारी, बोझ बोकाएको स्थितिमा हामी छौं।’

सुदूरपश्चिम प्रदेश सरकारले अहिलेसम्म ल्याएको सबै बजेट कार्यान्वयन गर्न पूर्णरुपमा सफल हुन सकेको छैन। एक अल्पकालिन गरी ५ वटा बजेट प्रदेश सरकारले कार्यान्वयन गरी सकेको छ। तर अहिलेसम्म ५ वटा बजेट कार्यान्वयन गरेको सुदूरपश्चिमको प्रगति ७० प्रतिशत पनि पुग्न सकेको छैन। ५ ओटै बजेटको खर्च प्रगति ७० प्रतिशत भन्दा कम छ। 

प्रदेश सरकारले रहेक वर्ष विभिन्न बहानामा बजेट पूर्णरुपमा खर्च गर्न नसकेको बताउँदै आएको छ। विशेषगरी प्रदेश महत्वका योजनामा सरकारले देखाउँदा उदाशिनताका कारण नै अपेक्षा अनुसार खर्च हुन नसकेको अर्थका जानकारहरु बताउँछन्। 

यता टुक्रे योजना छनोट गरेको विषय भने प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावल स्वीकार गर्न तयार छैनन्। ‘हामीले मन्त्रालयहरुमा सिलिङ पठाउँछौं। अन्य मन्त्रालयले पनि जिल्लाबाट आएका योजना नै पठाउने गरेका छन्। नागरिकबाट त्यस्तै योजना माग हुने गरेको छ,’ उनले भने।

सुदूरपश्चिम प्रदेश सरकारले पहिलो कार्याकालको अन्तिम बजेट पनि ल्याएको छ। चालु आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार बजेट ल्याएको हो।

विगतदेखि नै टुत्रे योजना छनोट गर्ने गरेको आरोप खेप्दै आएको प्रदेश सरकार यस वर्ष पनि अछुतो रहन सकेको छैन। चालु वर्षमा प्रदेश र संघको निर्वाचन पनि हुने हुँदा चुनावलाई लक्षित गर्दै टुक्रे योजना छनोट गरेको आरोप प्रदेशका मन्त्री र सांसदलाई लागेको छ। यस्तै योजनाका कारण विकास बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस