सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ६ लेनमा कहिले हुन्छ सडक बत्ती जडान ?

२०७९ साउन १, ११:१७ रोशन भट्ट

धनगढीः ३ ओटा प्याकेजमा निर्माण भइरहेको कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकको काम अन्तिम चरणमा पुगेको छ। कालोपत्रेको काम सकिएर अहिले फिनिसिङ्गको काम भइरहेको आयोजना कार्यालयले जनाएको छ। 

अहिले रेलिङ, फुटपाथ निर्माण तथा पेन्टिङको काम जारी छ। सडक निर्माणको काम अन्तिम चरणमा पुगेको भएपनि सडक बत्ती जडान गर्ने विषयमा भने कुनै निर्णय हुन सकेको छैन। रातिको समयमा दुर्घटना हुने जोखिम रहेकाले सडक बत्ती अनिवार्य छ। तर यस विषयमा अहिलेसम्म कुनै प्रक्रिया नै सुरु भएको छैन। 

सडक बत्ती जडानको सवालमा आयोजना कार्यालय आफै अन्यौलमा छ। अहिलेसम्म उक्त जिम्मेवारी कुन निकायले लिने भन्ने विषयकै टुङ्गो लागेको छैन। विद्युत प्राधिकरण र स्थानीय तहले पनि ६ लेनमा सडक बत्ती जडानको विषयलाई चासो दिएका छैनन्। योजना कार्यालयले सडक विभागलाई बत्तीको विषयमा पत्र पठाएको बताएको छ। 

योजना कार्यालय सडक विभागको निर्देशनको पर्खाइमा रहेको योजना प्रमुख रामबहादुर गुरुङले बताए। ‘आधिकारिक निर्णय भएको छैन। विभागमा पत्र पठाएको छुँ। स्थानीय तह वा प्राधिकरणले गर्ने हो कि हामीले नै गर्ने हो टुङ्गो लागेको छैन’ उनले भने। 

१४ किलोमिटर लामो सडकमा बत्ती जडानका लागि लागत, स्टीमेट, अध्यायसमेत नभएको पाइएको छ। रातिको समयमा सवारी डिभाइडर ठोकिने खतरा छ। अन्य दुर्घटना कम गर्न पनि सडक बत्ती आवश्यक छ। सडक बत्तीले धनगढी र अत्तरियाको सुन्दरता पनि थप्ने देखिन्छ। तर, आयोजना प्रमुख गुरुङका अनुसार अहिलेसम्म त्यसका लागि डिपिआरसमेत तयार भएको छैन। ‘विभागको निर्देशनपछि डिपिआर तयार हुन्छ। अनि मात्रै काम सुरु हुने हो,’ उनले भने। 

धनगढीको बोराडाँडीमा रहेको भाटभटेनी सुपर स्टोरले भने आफ्नो क्षेत्रमा सडक बत्ती जडान गरेको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस