सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा जिल्ला सदरमुकामका जनप्रतिनिधि भन्छन्, ‘नगरलाई समृद्ध बनाउछौं’

२०७९ जेठ १४, ०८:१२ रोशन भट्ट

धनगढीः सुदूरपश्चिमका ८८ मध्ये ८७ स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएका छन्। निर्वाचित प्रतिनिधिहरुले पाँच वर्षे कार्यकालमा गर्ने कामहरुको योजना पनि सार्वजनिक गरिरहेका छन्। विशेष गरी प्रदेशका जिल्ला सदरमुकाममा रहेका पालिकाले कस्तो काम गर्छन् भन्ने विषय चासोका साथ हेरिएको छ।

सदरमुकामको प्रभाव अन्य पालिकामा समेत पर्ने हुँदा उनीहरूको काम चासोका साथ हेरिएको हो। सबैसँग समन्वय गरेर नगरको विकासमा लाग्ने कञ्चनपुरको भीमदत्त नगरपालिकाका नवनिर्वाचित प्रमुख पदम बोगटीले बताए। ‘शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिएका छौं,’ उनले भने, ‘पूर्वाधार निर्माणमा पनि हामी निरन्तर काम गर्छौं।’

जिल्ला सदरमुकाममा रहेका स्थानीय तहले आगामी पाँच वर्षका लागि अहिलेदेखि नै काम सुरु गरेको जनाएका छन्। केही निर्वाचित प्रमुखहरुले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको जनाएका छन्। केही निर्वाचित प्रतिनिधिहरुले भने समृद्ध नगर बनाउने घोषणा गरेका छन्।

सडक, खानेपानी, फोहर व्यवस्थापन, रोजगारी सिर्जना, व्यवस्थीत बसोवास लगायतका क्षेत्रमा काम गरेर स्थानीय तहलाई समृद्ध बनाउने डडेल्धुराको अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले बताए। ‘समग्र रुपमा नगरलाई समृद्ध बनाउने हो,’ उनले भने, ‘यसमा सबैको सहयोग चाहिन्छ। समन्वय पनि हुन्छ।’

सुदूरपश्चिमको पहाडी जिल्ला सदरमुकामका केही पालिकामा अझै पनि पूर्वाधारको समस्या छ। खानेपानीको समस्या अझै समाधान हुन सकेको छैन। विद्युत विस्तार, सडक सञ्जाल लगायत अन्य पूर्वाधार निर्माणमा सदरमुकामकै पालिकाहरु अझै पनि पछाडि छन्। त्यसकारण पनि अहिले निर्वाचित भएर आएका प्रमुखहरुले सोतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ।

अन्य स्थानीय तहका प्रमुखलाई पनि प्रेरणा मिल्ने काम गर्ने योजना रहेको डोटीको दीपायल सिलगढी नगरपालिकाका मेयर वाजीसिंह खड्काले बताए। ‘पर्यटन र कृषिलाई हाम्रो प्राथमिकता छ,’ उनले भने, ‘अन्य विकास निर्माणमा पनि हामी पछि पर्दैनौं।’

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस