सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कैलारीमा त्रिपक्षीय भिडन्त

२०७९ वैशाख २०, ०७:०१ रोशन भट्ट

धनगढीः कैलारी गाउँपालिकामा तीन ठूला दलबीच प्रतिस्पर्धा हुने देखिएको छ। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि उक्त गाउँपालिकामा तीन दलबीच नै भिडन्त भएको थियो। त्यतिबेला नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच भएको प्रतिस्पर्धामा माओवादी केन्द्र विजयी भएको थियो। 

नेपालीका काँग्रेस र एमालेका उम्मेदवारलाई ७४ सालमा पराजित गरेका माओवादीका लाजुराम चौधरी यसपटक पनि उम्मेदवार बनेका छन्। गएको पाँच वर्षका राम्रो काम गरेको दाबी गर्दै यसपटक पनि आफ्नो जित सुनिश्चित रहेको उनी बताउँछन्। ‘मैले पाँच वर्षसम्म गरेका कामहरु जनताले हेरिसकेका छन्। त्यसकारण मेरो जित निश्चिम छ। कसैसँग प्रतिस्पर्धा छैन’ चौधरी भने। 

जिल्लाका अन्य स्थानीय तहमा काँग्रेस, माओवादी र समाजवादीबीच गठबन्धन छ। तर कैलारी गाउँमा गठबन्धन भनिए पनि त्यहाँ गठबन्धनमै आवद्ध दुई दलका उम्मेदवार छन्। सिट बाँडफाँडमा कैलारी गाउँपालिका माओवादी केन्द्रको भागमा परेको थियो। तर नेपाली काँग्रेसका राजसमज चौधरी चुनावी मैदानमा छन्। गठबन्धनमा आवद्ध काँग्रेस र माओवादीका उम्मेदवारको यस विषयमा धारणा भने फरक–फरक छ। 

माओवादीका उम्मेदवार गठबन्धन हुनुपर्ने भए पनि भंग भएको बताउँछन् भने, काँग्रेसका उम्मेदवारले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको बताउँछन्। काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार राजसमज चौधरीले पनि प्रतिस्पर्धा गर्ने सहमति भएको बताए। ‘हामी पालिका स्तरको बैठकमा तालमेन नगर्ने एक्लै लड्ने सहमति भएको छ। मित्रवत प्रतिस्पर्धा हुन्छ’ उनले भने। 

गत स्थानीय तहको निर्वाचनमा कैलारी गाउँपालिकामा एमाले तेस्रो भएको थियो। माओवादी केन्द्रले जित हात पार्दा काँग्रेस दोस्रो भएको थियो। तर वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलारीमा एमालेको आफ्नो पोजिशन बदल्ने दाबी गरेको छ। त्यहाँ एमालेको तर्फबाट झुमा चौधरी अध्यक्षमा चुनाव लड्दै छिन्। 

काँग्रेस र माओवादीलाई पछि पार्दै आफ्नो जित निश्चित रहेको चौधरी पनि दाबी गर्छिन्। ‘विभिन्न स्वार्थ देखाएर उनीहरु(काँग्रेस र माओवादी)को पक्षमा मान्छेको झुण्ड बढी भएपनि जनताले एमालेलाई विश्वास गर्नेछन्,’ उनले भनिन्, ‘अहिले हाम्रो संगठन पनि राम्रो भएका कारण जित निश्चत छ।’

कैलारीमा नागरिक उन्मुक्ति पार्टीका भिष्मराज चौधरी र राप्रपाका होमबहादुर गुरुङले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस