खप्तड भ्रमणमा कवि, लेखक तथा अर्थविदहरू
धनगढी : कवि, लेखक तथा अर्थविदहरूको टोली भूस्वर्ग भनेर चिनिने धार्मिक पर्यटकीयस्थल खप्तडको भ्रमणमा निस्किएको छ। योग एवं प्राकृतिक चिकित्साका विशेषज्ञ डा. हरिप्रसाद पोख्रेल, चर्चित कवि मोमिला जोशी, राजेश्वर कार्की, अर्थविद् डा. मणिकलाल श्रेष्ठ, गीतकार राजश्री श्रेष्ठलगायत स्रष्टाहरू सहभागी उक्त टोली आइतबार काठमाडौंबाट हिँडेको हो।
राति डोटीको झिग्रानास्थित खप्तड होमस्टेमा बास बसी सोमबार बिहानै खप्तडका लागि निस्केको थियो। टोलीको नेतृत्व डा. श्रेष्ठले लिएका छन्। त्यस्तै, भ्रमणका क्रममा व्यवस्थापनको जिम्मा मोहित ट्राभल्सले पाएको छ। उक्त समूहका सहभागीहरू तीन रात खप्तडमा बसेर त्यहाँका त्रिवेणीधाम, सहस्त्र लिंग, खप्तड बाबा आश्रम, खापर दह, पाटनलगायत सम्पदा भ्रमण गर्नेछन्।
यात्राकै सिलसिलामा बगलेखक होमस्टे, डडेल्धुराको उग्रतारा मन्दिर, डोटीको शैलेश्वरी मन्दिरलगायत दर्शन गर्ने र महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय आरक्षणसमेत घुम्ने योजना रहेको कुरा भ्रमण टोलीका सदस्य तथा कृषि क्षेत्रमा विशेषज्ञको रुपमा कार्यरत राजेश्वर कार्कीले बताए।