सुदूरपश्चिममा किन नियन्त्रण हुँदैन लागूऔषध प्रयोग र कारोबार ?
धनगढीः सुदूरपश्चिम लागूऔषध प्रयोगकर्ता र कारोबारीको हटस्पट बन्दै गएको छ। विशेषगरी कैलाली र कञ्चनपुरमा यसका सेवनकर्ता र कारोबारी बढीरहेका छन्। सुदूर पहाडमा पनि यसको प्रभाव उत्तिकै छ। तर यसको नियन्त्रणमा भने नेपाल प्रहरी सफल हुन सकेको छैन। यसमा कानूनी अड्चन पनि देखिएको छ।
लागूऔषध सम्बन्धी बनेको कानूले प्रयोगकर्तालाई बढीमा ९० दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ। त्यसपछि सुधारकेन्द्र पठाउनुपर्ने प्रावधान छ। तर, सबै प्रयोगकर्ता सुधारकेन्द्र भने जाने गरेका छैनन्। प्रहरी नियन्त्रणबाट छुटेकाहरु पुनः लागूऔषध प्रयोगमा नै संलग्न हुन थालेपछि यसको नियन्त्रणमा चुनौति देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। ‘कानूनले नै सेवनकर्तालाई सुधारकेन्द्र लैजानु भन्छ। कारोबारीलाई भने कारबाही गर्न पाइने प्रावधान छ’ उनले भने।
अन्य घटनामा प्रहरीले २४ दिनसम्म अनुसन्धान गर्ने गरेको छ। तर लागूऔषधको सवालमा भने प्रहरीलाई ९० दिन अर्थात तीन महिनासम्म अनुसन्धान गर्ने अनुमति कानूनले उपलब्ध गराएको छ। उक्त अनुसन्धानपछि कारोबारीलाई कैद सजायको पनि प्रावधान छ, भने प्रयोगकर्तालाई सुधारकेन्द्र पठाउनुपर्ने भनिएको छ। तर प्रदेशमा कारोबारीभन्दा बढी प्रयोगकर्ता नै प्रहरीको नियन्त्रणमा पुग्ने गरेका छन्। त्यसकारण पनि लागूऔषधको अवस्थामा सुधारमा कानूनी अड्चन देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले बताए। ‘यो नियन्त्रणमा नहुनुमा पक्राउ पर्नेहरु छिट्टै रिहान हुन पनि एक कारण हो,’ उनले भने, ‘हाम्रो प्रयास जारी छ। धेरैजसो नियन्त्रणमा पनि पर्ने गरेका छन्।’
कैलाली कञ्चनपुरसहित सुदूर पहाडका विभिन्न क्षेत्रबाट लागूऔषधका प्रयोगकर्ता पक्राउ पर्ने गरेका छन्। तर उनीहरु ९० दिनभित्रै सहज रुपमा उन्मुक्ति पाउँदै आएका छन्। विशेषगरी खैरोहिरोइन, नाइट्रभेट लगायतका लागूऔषध भारतबाट आयात हुने गरेको छ भने गाँजा, चरेश नेपालमै पाइने गरेको छ।
युवा पुस्तालाई भित्रभित्रै ध्वस्त पारिरहेको भारतबाट आयत हुने लागूऔषध नियन्त्रणमा नेपाल प्रहरी चनाखो बन्नुपर्ने देखिएको छ। लागूऔषधको कुलतमा २० वर्षभन्दा कम उमेरका बढी फसेका छन्। पछिल्लो समय युवती तथा किशोरीहरु पनि यसमा फस्न थालेको प्रहरी अनुसन्धानले देखाउने गरेको छ। ती मध्ये अधिकांश लागूऔषध प्रयोगकर्ताहरु अपराधिक क्रियाकलाप संलग्न हुने गरेका छन्।