गेटा मेडिकल कलेज कहिले सञ्चालन हुन्छ ?
धनगढीः सुदूरपश्चिमको डडेल्धुराबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भए। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा पछिल्लो समय पाचौंपटक देशको प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। देउवा प्रधानमन्त्री भएसँगै सुदूरपश्चिका आम नागरिकले धेरै अपेक्षा राखेका छन्।
यस क्षेत्रमा अलपत्र परेका राष्ट्रिय महत्त्वका आयोजना अगाडि बढ्ने विश्वास सुदूरपश्चिमवासीको थियो। त्यसमा गेटा मेडिकल कलेज सञ्चालनको विषय पनि थियो। तर संघीय सरकारको उदासीनताका कारण ‘गेट सेट गो’ को अवस्थामा रहेको मेडिकल कलेज सञ्चालन हुन सकेको छैन। सञ्चालनका लागि नीतिगत निर्णय हुन नसक्दा सुदूरपश्चिमको चिकित्सा शिक्षा सुरु गर्ने सपना पछाडि धकेलिदै छ।
मेडिकल कलेज पूर्वाधार निर्माण कार्यालयका कार्यकारी निर्देशक हेमराज पुजाराले कलेज सञ्चालनबारे अहिलेसम्म कुनै निर्णय नभएको बताए। ‘यो हाइ लेभलबाट गर्नुपर्ने निर्णय हो। अहिलेसम्म प्रारुपको विषयमा कुनै प्रक्रिया अगाडि बढेको मलाई जानकारी छैन’ उनले भने।
गेटामा अस्पताल र कलेज सञ्चालनका लागि आवश्यक पर्ने भौतिक संरचना पूर्णरुपमा तयार भइसकेका छन्। त्योबाहेक केही अन्य संरचनाको काम अन्तिम चरणमा पुगेको छ। केहीको काम तिब्र गतिमा भइरहेको छ। तर संघीय सरकारले नीतिगत निर्णय गर्न ढिलाई गरेका कारण समस्या भइरहेको निर्माण समितिका पूर्व अध्यक्ष डा. चेतराज पन्तले बताए। ‘मेडिकल कलेज सञ्चालनको प्रक्रिया तत्काल अगाडि बढाउन आवश्यक छ,’ उनले भने ‘अहिलेको समय पनि ठिक छ। प्रक्रिया अगाडि बढाए ६ महिनापछि कक्षा सञ्चालन गर्न सकिन्छ।’
मेडिकल कलेज सञ्चालनको विषयमा सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा दख्खल राख्ने नेताहरु पनि मौन छन्। गठबन्धन सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्दै आएको छ। सरकारमा दुई ठूला दल माओवादी केन्द्र र एकीकृत समाजवादी पनि सहभागी छन्। सरकारमा रहेका तिनै ठूला दलका दर्जन बढी केन्द्रीय सदस्य सुदूरपश्चिमबाट छन्। तर उनीहरु पनि गेटा मेडिकल कलेज सञ्चालनको विषयमा बोलेका छैनन्।
कार्यकारी ठाउँमा पुगेकाहरुलाई दबाब दिनुपर्ने प्रतिनिधिहरु पनि चिर निन्द्रामा छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले भने भौतिक संरचनाको निर्माण कार्य नै नसकिएको बताएका छन्। उनी भन्छन्, ‘भौतिक संरचना निर्माण सकिएपछि सरकारलाई हस्तान्तरण हुन्छ। त्यसपछि मात्रै मेडिकल कलेज सञ्चालनको प्रक्रिया सुरु हुन्छ।’
मेडिकल कलेज सञ्चालनका लागि ४ वटा विकल्प छन्। प्रदेशवासीले भने चिकित्सा विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्नुपर्ने माग राख्दै आएका छन्।