सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरमा डाक्टर उत्पादन गर्ने सपना अधुरै

२०७८ चैत्र २१, ०६:१४ रोशन भट्ट

धनगढीः कैलालीको गेटामा चिकित्सा शिक्षा सञ्चालनका लागि भौतिक संरचना निर्माणको काम लगभग सकिएको छ। संघीय सरकारको साढे ४ अर्ब बजेट खर्चेर ६ वटा प्याकेजको काम पूर्णरुपमा सकिएको छ। भने, सातौं प्याकेजको काम अन्तिम चरणमा पुगेको छ। जसमा प्रशासनिक भवन, अस्पताल भवन लगायतका संरचना रहेका छन्। 

बाँकी ४ वटा प्याकेजमा पर्खाल निर्माण, छात्रवास, भिआइपी निवास निर्माण, फर्निचर र विद्युत विस्तारको काम पनि तिब्र गतिमा भइरहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण कार्यालयका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए। ‘११ वटा प्याकेजमा काम भइरहेको छ। ६ वटा प्याकेजको काम पूर्ण रुपमा सकियो। सातौंको निर्माण कार्य अन्तिम चरणमा छ। बाँकी चार प्याकेजमा पनि तिब्र गतिमा काम भइरहेको छ,’ उनले भने। 

संरचना तयार हुँदा पनि मेडिकल कलेज सञ्चालनको विषयमा भने हालसम्म कुनै सुरसार भएको छैन। संघीय सरकारले नै प्रारुप तयार गर्नुपर्ने भए पनि त्यसमा ढिलाई भइरहेको छ। शिक्षा मन्त्रालयबाट निर्माण भइरहेको मेडिकल कलेजलाई सञ्चालन गर्न संघीय सरकारले नै ढिलाई गरिरहेको छ। भौतिक संरचना निर्माण गरिरहेको शिक्षा मन्त्रालयले नै गेटा मेडिकल कलेजको प्रारुप तय गर्न ०७५ मा नै विधेयक तयार गरेको थियो। उक्त विधेयक  सोही समयमा मन्त्रिपरिषद्मा पेश पनि भयो। तर मन्त्रिपरिषद्ले हालसम्म स्वीकृत गरेको छैन। सञ्चालनको प्रारुप तयार गर्नका लागि सभाबाट पास गर्नुपर्ने विधेयक मन्त्रिपरिषदबाटै पास नभएको हो।

त्यसकारण पनि गेटा मेडिकल कलेजको संरचना तयार भए पनि सञ्चालनका लागि कुनै प्रक्रिया सुरु नभएको भन्दै कार्यकारी निर्देशक पुजाराले भने, ‘कुन मोडालिटीमा सञ्चालन हुन्छ भन्ने विषयको टुङ्गो लागेको छैन। ०७५ मा नै शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा विद्ययक लगेको थियो। तर त्यो विद्ययक हाउसमा जान सकेको छैन।’

निर्माण सम्पन्न हुन लागेको मेडिकल कलेज सञ्चालनका लागि प्रारुपका ४ वटा विकल्प छन्। ती हुन् मेडिकल कलेज, चिकित्सा संस्थान(आइओएम), स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल विश्वविद्यालय। सुदूरपश्चिमका अधिकांश नागरिकको माग मेडिकल विश्वविद्यालय हुनुपर्ने छ। नभए दोस्रो प्राथमिकतामा स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। तर नीतिगत निर्णय गर्ने ठाउँमा पुगेकाहरुले आफ्नो स्वार्थ पुरा गर्नका लागि त्यसलाई मेडिकल कलेजका रुपमा सञ्चालन गर्ने चलखेल गरिरहेका छन्। 

मेडिकल कलेजको प्रारुपको विषयमा पनि कार्यकारी निर्देशक पुजाराले यस क्षेत्रलाई फाइदा पुग्ने निर्णय गर्नुपर्ने धारणा राखेका छन्। ‘यो हाइ लेभलबाट नीतिगत निर्णय गर्नुपर्ने विषय हो’, उनले भने, ‘चारै मोडालिटी कार्यान्वयन गर्न समस्या पनि छ। चारै मोडालिटीका राम्रा पक्ष पनि छन्। अब गेटालाई के गर्दा सबैलाई फाइदा पुग्छ त्यो लाई महसुस गर्न भने आवश्यक छ।’ 

भौतिक संरचना निर्माण हुँदा पनि सञ्चालनको प्रारुप तयार गर्न भइरहेको ढिलाइका कारण सुदूरपश्चिमबाट चिकित्सक उत्पादन गर्ने सपना अधुरै रहेको छ। अन्य संरचना निर्माणको सवालमा आन्तरिक सडक कालोपत्रेसँगै पानीको व्यवस्था, फोहर व्यवस्थापन र बहुउपयोगी हल निर्माणको पनि तयारी भइरहेको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस