‘कैलारीका जनप्रतिनिधिको कार्यकाल असफल’
स्थानीय तह समीक्षा
धनगढीः कैलालीको कैलारी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल असफल भएको आरोप लागेको छ। अहिलेका जनप्रतिनिधिले नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लागेको हो। निर्वाचनको समयमा गरिएका घोषणामध्ये कुनै पनि पूरा नभएको गुनासो गरिएको छ।
गाउँपालिकामा अहिलेका जनप्रतिनिधिहरुले निर्वाचनको समयमा सबै वडाका सडकमा ग्रावेल हाल्ने, चिल्ड्रेन पार्क निर्माण गर्ने, कृषिमा विशेष ध्यान दिने लगायत स्थानीय तहमा सुशासन कायम गर्ने घोषणा गरेका थिए। तर त्यो अनुसार काम नभएको नेकपा एमालेबाट उपध्याक्षमा पराजित झुमा चौधरीले बताइन्। ‘घोषणा पत्र अनुसार केही पनि काम भएको छैन। अहिलेका प्रतिनिधिको कार्यकाल असफल भएको छ’ उनले भनिन्।
कैलाली गाउँपालिका माछा पालन लागि बढी महत्वपूर्ण मानिन्छ। त्यसकारण पनि अहिले जनप्रतिनिधिले माछा पालनमासमेत विशेषा पहल गर्ने बाचा गरेका थिए। तर अनुदान वितरणमा भने निकट व्यक्तिलाई छनोट गरेको गुनासो गाउँवासीको छ। योसँगै स्थानीय स्रोतको पहिचान गरि आर्थिक स्रोत बढाउने दावी गरिएको थियो। तर कर बढाएर नागरिकलाई अझै समस्यामा पारेको आरोप लागेको छ। शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा पनि गाउँपालिका नेतृत्वले अपेक्षाकृत रुपमा काम गर्न नसकेको नेपाली काँग्रेसबाट अध्यक्षमा पराजित राजसमज चौधरीले बताए। उनी भन्छन्, ‘यो नेतृत्वले जनताको अपेक्षा अनुसार काम गर्न सकेन। भ्रष्ट्राचार र अनियमिततामा मात्र लिप्त भए जनप्रतिनिधि।’
स्थानीय तहमा नेतृत्व चयन भएपछि भने गाउँपालिका अध्यक्ष/उपध्याक्ष निकटका व्यक्तिलाई मात्रै फाइदा पुगेको देखिएको छ। अहिले गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रले गर्दै आएको छ। गाउँपालिकाबाट फाइदा पनि उनीहरुले मात्रै लिएको टिप्पणी गरिएको छ।
आम नागरिकले भने स्थानीय सरकारको अनुभूति पनि गर्न नपाएको बताएका छन्। त्यहाँ करारमा कर्मचारी भर्ना गर्दा पनि प्रक्रिया विपरित तोक सेवामार्फत गरिएको देखिएको छ। सेवा प्रवाहमा धेरै समस्या नभए पनि जनप्रतिनिधि आफ्ना नजिकका व्यक्तिलाई खुसी पार्न केन्द्रीत भएपछि पालिकाको समग्र विकास पछाडि धकेलिएको छ।
तर गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी भने आफूले घोषणा गरेकामध्ये ९५ प्रतिशत काम भएको दावी गर्छन्। ‘कार्य सम्पादनमा देशकै उत्कृष्ट ५ मा हाम्रो स्थानीय तह परेको छ। आरोप लगाउनेले इतिहास हेर्दा हुन्छ। हामीले जनताकै पक्षमा काम गरेका छौं,’ उनले भने।