सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल स्तरोन्नति : ‘उचित मूल्याङ्कनसहित मुआब्जाको व्यवस्था हुन्छ’

फाइल फोटो
फाइल फोटो
२०७८ माघ ९, ११:०१ रोशन भट्ट

धनगढीः धनगढी विमानस्थल स्तरोन्नति गर्दा प्रभावित क्षेत्रको उचित मूल्याङ्कनसहित मुआब्जाको व्यवस्था हुने दाबी गरिएको छ। नेपाल नागरिक उड्यन प्राधिकरणले जग्गा प्राप्ती ऐनअनुसार प्रभावित क्षेत्रका बासिन्दालाई अन्याय नहुने गरी उचित मूल्याङ्कनसहित मुआब्जाको व्यवस्था हुने दाबी गरेको हो।

प्राधिकरणले जग्गा अधिग्रहणको सुरुवाती प्रक्रियाका लागि एक अर्ब बजेट विनियोजन गरेपछि सर्भे टोली धनगढी पठाएको छ। तर विमानस्थल वरपरका बासिन्दाले बेलाबेला अवरोध गर्दे आएका छन्। नागरिक उड्यन प्राधिकरणका इन्जिनियर मुरारी भण्डारीले उचित मूल्याङ्कनसहित मुआब्जाको व्यवस्था हुने भएकाले स्थानीयलाई नआत्तिन आग्रह गरे। ‘अहिले जग्गा अधिग्रहणको प्रक्रिया सुरु नै भएको छैन,’ उनले भने, ‘त्यसको लागि प्रमुख जिल्ला अधिकारीलाई प्रारम्भिक अधिकारी तोक्न नै बाँकी छ। प्रभावित हुनसक्ने स्थानीयले आत्तिनु पर्दैन।’ 

उनले स्थानीयको सहमतिअनुसार नै जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढ्ने बताए। ‘जग्गा अधिग्रहणका लागि स्थानीयको सहमति आवश्यक हुन्छ,’ उनले दिनेशखबरलाई भने, ‘अधिग्रहणको प्रक्रिया जग्गा प्राप्ती ऐनअनुसार अगाडि बढ्ने छ। विमानस्थल बनाउदा कसैलाई पनि अन्याय हुँदैन।’

गत बिहीबारदेखि सर्भेको काम सुरु भए पनि स्थानीयले भने अवरोध गरिरहेका छन्। शुक्रबार पनि धनगढीको वडा नम्बर ११ मा पर्ने जग्गा सर्भे गर्ने काम भइरहेको थियो। स्थानीय सुरेन्द्र भट्टले विमानस्थल स्तरोन्नतिको पक्षमा रहेको बताउदै उचित मूल्याङ्कन गरेर मुआब्जा दिनुपर्ने बताए। ‘हामी विकासको विरोध गर्दैनौं,’ उनले भने, ‘हाम्रो व्यवस्थापन हुनुपर्छ। जग्गाको उचित मुआब्जा पाउनुपर्छ।’ 

काठमाडौंदेखि नै प्राविधिकसहितको चार जनाको टोली सर्भेका लागि धनगढीमा आएको हो। धनगढी विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्नुपर्ने स्थान धनगढीसँगै गोदावरीमा पनि पर्छ। सरोकारवाला निकायसँगको समन्वयमा स्थानीयसँग छलफल गरेर काम गर्ने धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। ‘काठमाडौंबाट आएको टोली फिल्डमा काम गरिरहेको छ,’ उनले भने, ‘स्थानीयले अवरोध गर्दै आएका छन्। काम गर्न समस्या भएको छ।’

अहिले कायम रहेको विमानस्थलबाट चार सयदेखि एक किलोमिटरसम्मको जग्गा अधिग्रहण हुन सक्ने बताइएको छ। विमानस्थलको केन्द्रदेखि पूर्व, पश्चिम र उत्तरतर्फ बढी अधिग्रहण हुने छ। दक्षिणमा भने थोरै जग्गा मात्र अधिग्रहण हुने छ। पूर्वमा धनगढी–दीपायल फास्ट ट्याकसम्म नै विमानस्थल विस्तार हुने छ। पश्चिममा धनगढी–अत्तरिया ६ लेन सडकबाट साढे तीन सय मिटर छाडेर जग्गा अधिग्रहण हुने बताइएको छ। उत्तरमा चारदेखि साढे चार सय मिटरसम्म जग्गा अधिग्रहण गरिने छ। 

अहिले विमानस्थलमा १८ सय मिटरको धावनमार्ग छ भने स्तरोन्नतिका लागि २ हजार ५५० मिटरको छुट्टै धावनमार्ग बनाइने छ। ‘अहिलेको धावनमार्गलाई ट्याक्सी मार्गका रुपमा प्रयोजन गर्ने योजना छ,’ प्राधिकरणका इन्जिनियर भण्डारीले भने, ‘नयाँ धावनमार्ग अहिलेको भन्दा केही उत्तरमा बन्छ।’

नागरिक उड्यन प्राधिकरण क्यानको ३९२औं बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार गर्नका लागि नक्सा पारित गर्ने निर्णय पनि गरेको थियो। साथै २५० बिगा जग्गा अधिग्रहण गर्ने प्रस्तावसमेत पारित गरेको थियो।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस