सुदूरपश्चिममा हुँदैन ओमिक्रोन परीक्षण, काठमाडौंबाट हप्तौँ लाग्छ रिपोर्ट आउन
धनगढीः सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण दर निरन्तर रुपमा उकालो लाग्दै गएको छ। अहिले संक्रमण पुष्टि हुनेमा अधिकांश भारतबाट फर्किएका नागरिक छन्। छिमेकी मुलुक भारतसँगै विश्वका अन्य मुलुकमा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएको छ।
सुदूरपश्चिममा पनि नयाँ भेरियन्टको संक्रमण फैलिने खतरा उच्च छ। भेरियन्ट पत्ता लगाउनका लागि एक सय ६४ स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। तर १८ नमूना परीक्षण गर्दा ओमिक्रोन देखिएको छैन भने बाँकी एक सय ४६ नमूना परीक्षणको क्रममा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले बताए। ‘पठाएको नमूनाको रिपोर्ट आउन १०/१५ दिन लाग्छ,’ उनले भने, ‘अहिलेसम्म प्रदेशमा ओमिक्रोनको संक्रमण देखिएको छैन।’
सुदूरपश्चिममा भेरियन्ट पत्ता लगाउने प्रयोगशाला नहुँदा स्वाब काठमाडौं पठाउनु पर्ने बाध्यता रहेको हो। प्रदेश सरकारले पनि आफ्नै क्षेत्रमा उक्त प्रयोगशाला सञ्चालन गर्ने कुनै तयारी गरेको छैन। विगतभन्दा ओमिक्रोन भेरियन्टले मानव स्वास्थ्यमा बढी असर गर्ने भनिएका बेला प्रदेशमै प्रयोगशालाको आवश्यकता देखिएको छ।
राष्ट्रिय प्रयोगशालामा पठाइएको नमूनाको रिपोर्ट पनि धेरै समयपछि मात्रै आउने गरेको छ। प्रदेशमा पोजेटिभ देखिएका सबै नमूनाको ओमिक्रोन परीक्षण समेत हुने गरेको छैन। पर्याप्त मात्रमा ओमिक्रोनको परीक्षण नहुँदा भित्रभित्रै संक्रमण फैलिने खतरा बढ्न थालेको छ।
अहिले प्रदेशमा एन्टीजेन र पीसिआरमार्फत कोरोना परीक्षण भइरहेको छ। यो परीक्षणमा पोजेटिभ देखिएका केही स्वाबलाई मात्रै काठमाडौं पठाउने गरिएको छ। प्रदेशमै भेरियन्ट पत्ता लगाउनका लागि आर्थिक स्रोत बढी लाग्ने देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए। ‘कोभिडको भेरियन्ट पत्ता लगाउनुभन्दा पनि कोरोना परीक्षण गर्नु नै राम्रो हो,’ उनले भने, ‘जुनसुकै भेरियन्ट भए पनि सजक हुन आवश्यक छ।’